०८ साउन २०८३, शुक्रबार

‘डोल्पामा वाम गठबन्धनद्वारा बुथ कब्जा भयो’

मंसिर १९, २०७४
‘डोल्पामा वाम गठबन्धनद्वारा बुथ कब्जा भयो’

काठमाडौं, १९ मंसिर – डोल्पामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बनेका अंगदबहादुर बुढाले जिल्लामा मतदानको क्रममा बाम गठबन्धनद्वारा बुथ कब्जा भएको दाबी गरेका छन् ।
डोल्पामा मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन भएको थियो ।

बुढाले के कसरी बुथ कब्जा गरियो भन्ने बारेमा प्रहरी प्रशासन, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमा समेत उजुरी दिएको भएपनि त्यसमाथि कारबाही नभएको गुनासो गरेका छन् । 

उनले वाम गठबन्धनद्वारा बुथ कब्जा भएका ठाउँमा फेरि मतदान गर्नुपर्ने बताएका छन् । तीन वटा गाउँपालिकाका विभिन्न बुथहरुमा बाम गठबन्धनले बुथ कब्जा गरेको उनले बताए ।

उनले प्रहरी प्रशासनसँग मिलेर बाम गठबन्धनले नतिजा प्रभावित गर्नको लागि बुथ कब्जा गरेर एक पक्षिय रुपमा मतदान गरिएको आरोप लगाएका छन् ।

छार्काताङसुन, डोल्पोबुद्ध र सेफोक्सुण्डो गाउँपालिकामा बुथ कब्जा गरिएको उनले बताए । उनका अनुसार यी गाउँपालिकाहरुमा सदरमुकामबाट पुग्न पाँच दिन समय लाग्छ । यी गाउँपालिकाहरु अत्यन्तै विकट र टाढाका गाउँपालिका हुन् ।

पाँच दिन अघि नै आफूहरुले यी गाउँपालिकामा पुग्ने गरि एजेन्टपत्र पुर्‍याउन मान्छे खटाएको भएपनि आफ्ना मान्छेहरुलाई बाम गठबन्धनका व्यक्तिहरुले बाटो छेकेर एजेन्ट  पत्र च्यातिएको बताए । आफ्ना कार्यकर्तालाई बाटो छेकेर रातभर रुखमा बाँधेर एजेन्ट पत्र पुर्याउन नदिइएको उनले बताए ।

यस्तो भएपछि आफूहरुले पुन एजेन्टपत्र बनाएर पठाएको भएपनि फेरि पनि सोही गतिविधि दोहोरिएको उनले बताए । ‘दोस्रो पटक आर्मीले छेकेर हाम्रा मान्छेहरुलाई फर्कायो, जुन बेला निर्वाचन हुन तीन दिन मात्रै बाँकी थियो,’ उनले भने, ‘त्यसपछि ती ठाउँहरुमा एजेन्टपत्र पठाउन सम्भव भएन ।’ आफ्ना कार्यकर्ताहरुले खुकुरी बोकेर आएका छन् भनेर सेनालाई गलत सूचना दिइएपछि सेनाले आफ्ना कार्यकर्तालाई कुरै नबुझि बीच बाटोबाट पठाएको उनले बताए ।
ती ठाउँहरुमा कांग्रेसका एजेन्ट बिनानै मतदान भएको उनले बताए । एजेन्टपत्र पठाउन सम्भव नभएपछि ती ठाउँको मतदान स्थगित गर्न माग गरेको भएपनि त्यसमा कुनै पनि सुनुवाई नभएको बताए । बुढाले आफूले यस बारेमा निर्वाचन आयोगमा समेत उजुरी दिएको र यसमा आयोगको निर्णय पर्खिएको बताए । उनले बाक्साहरु नखोलिँदै ती ठाउँको निर्वाचन स्थगित गरेर फेरि निर्वाचन गराउनुपर्ने माग गरेका छन् ।

डोल्पाका माथिल्ला क्षेत्रहरुमा कांग्रेसका एजेन्टहरुलाई बस्न नदिइ निर्वाचन गराइएको उनले बताए । प्रहरी प्रशासनले बाम गठबन्धनको प्रभावमा परेर निर्वाचनलाई प्रभावित गरेको उनले आरोप लगाए ।
आफ्ना एजेन्टहरुलाई बस्न नदिइएको ठाउँमा बाम गठबन्धनले एकपक्षिय रुपमा भोट हालेको उनको आरोप छ । यसरी आफूलाई मर्का परेको र इमान्दार रुपमा राजनीति गर्ने व्यक्तिलाई कसैले सहयोग नगरेको बताए ।

आफ्ना कार्यकर्ताहरुमाथि कुटपिट हुँदा सुरक्षा समेत नपुगेको उनले बताए । जिल्लामा अरु कर्मचारी हुँदा हुँदै मतदानका क्रममा एमाले निकटका शिक्षहरुलाई मात्रै खटाइएको समेत उनले बताए । 
त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत फुल्सीङको मुकुटेश्वर मावि मतदान केन्द्रमा पनि कांग्रेसका एजेन्टाई कोठामा थुरेर राखेर एक जनाले एक सय वटा सम्म मत हालेको उनले बताए । 

कांग्रेसले निर्वाचन लगत्तै यी ठाउँहरुमा फेरि निर्वाचन हुनुपर्ने माग गर्दै विज्ञप्ति निकाले समेत उनले बताए । तर आफूहरुका उजुरीमा कसैले पनि ध्यान नदिएको उनले बताए । डोल्पाका सिडियो माओवादी नेता जनार्दन शर्माका भान्जा भएकोले उनले मतदान प्रभावित गर्ने गतिविधिमा सहयोग गरेको आरोप लगाए । ५७ सय मत कब्जा गरेर एकलौटी मतदान गरिएको उनले बताए । 

तर डोल्पाको प्रहरी प्रशासनले निश्पक्ष निर्वाचन भएको बताएको छ । एमाले उम्मेदवार धनबहादुर बुढाले पनि कांग्रेस उम्मेदवारी हार्ने भेउ पाएपछि आफूहरुलाई आरोप लगाएको बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्