
काठमाडौं, १९मंसिर - पारीलो घाम, बदाम र सुन्तला छोडाएर खानेको भिडभाड, त्यसैमाथि निशुल्क वाइफाई सुविधा कुनैबेला अस्तव्यस्त मानिने रत्नपार्कको बिशेषता बनेका छन् ।
फुटपाथ पसल र देह व्यापारीको अखडा भन्ने आम बुझाई रहेको रत्नपार्कको परिचय आजभोलि फेरिएको छ ।
आजभोलि उपत्याकामा शान्तसँग दिन काट्नु पर््यो भने रत्नपार्क उपयुक्त विकल्प बन्न सक्छ ।
साँझा फूलबारी !
रत्नपार्क अचेल कसैको पखाईमा बस्ने, खाली समय बिताउने, घाम ताप्ने, साथीभाई भेट्ने र गफगाफ गर्ने थलो बनेको छ । बिहानैदेखि पारीलो घाम ताप्नेहरुको पर्खाइमा रहने रत्नपार्कमा मध्यान्ह नहुँदै युवा युवतीदेखि बृद्धबृद्धाको जमघट देखिन्छ ।

पार्क भित्र प्रेम जोडीहरु मात्रै होइन प्रेममा धोका पाएकाहरु पनि भेटिन्छन् । कोही यहाँ प्रेमिल कुराकानीमा भुलिरहेका हुन्छन् भने कोही चाहिँ आफ्ना पुराना दिनहरु सम्झिएर दुःख बिसाउन चाहान्छन् ।
पार्क भित्र छिर्ने वित्तिकै थुप्रै जोडीहरु देखिन्छन् । सम्भवतः अधिकांश प्रेम जोडी । कोही नशा पिएर दुःख बिसाउन पसेकाहरु पनि देखिन्छन् । रत्नपार्क पृथ्वीनारायण शाहले भनेको जस्तै सुन्दर बगैँचा बनेको छ ।
मासिक ६ देखि १० लाख कमाई
काठमाडांै महानगरपालिकाले करिब ८० लाख लागतमा पुनर्निर्माण र व्यवस्थापन गर्दै रत्नपार्कको मुहार फेरेपछि महानगरपालिको आम्दानी ह्वात्तै बढेको छ ।
महानगरपालिका अन्तर्गतको रत्नपार्क तथा रानीपोखरी इकाई कार्यालयका अनुसार रत्नपार्कले जाडो महिनामा दैनिक करिब १८ देखि २५ हजार र गर्मी महिनामा २५ देखि ३० हजार रुपैयाँ संकलन गर्ने गर्छ ।
गत आर्थिक वर्षको माघ मसान्तसम्म १ करोड ९ लाख रुपैयाँ संकलन भएको महानगरपालिका रत्नपार्क तथा रानी पोखरी एकाइ प्रमुख हरिशरण केसीले जानकारी दिए ।
उनकाअनुसार प्रवेश शुल्कवापत गत आर्थिक वर्षको माघसम्म ५५ लाख ५१ हजार रुपैयाँ संकलन भएको छ । त्यसैगरी छायाँकन शूल्कवापत गत आर्थिक वर्षमा ९० हजार र चालू आर्थिक वर्षको सात महिनाको अवधिमा ९५ हजार रुपैयाँ संकलन भएको छ ।
संकलित रकमको व्याजवापत गत वर्ष ७ हजार र चालू आर्थिक वर्षमा ४ हजार १ सय ३५ रुपैयाँ संकलन भएको इकाइको तथ्यांकमा उल्लेख छ ।
रत्नपार्कभित्र नयाँ शौचालयहरु निर्माण गरिएको छ । पार्कमा रंगरोगन पनि गरिएको छ ।
चार किसिमका टिकट
रत्नपार्क तथा रानीपोखरी इकाई कार्यालयकाअनुसार रत्नपार्कमा प्रवेश गर्नका लागि ४ वटा छुट्टाछुट्टै दरका टिकटको व्यवस्था रहेको छ ।
जसमध्ये साधारण टिकट २५ रुपैयाँ, विद्यार्थी टिकट १५ रुपैयाँ, एसियाली मुलुकका नागरिकलाई ५० रुपैयाँ र अन्य देशका नागरिकलाई ७५ रुपैयाँ प्रवेश शुल्क रहेको छ । तर, शारीरिक अपांगता भएका र ज्येष्ठ नागरिकलाई भने प्रवेश निःशुल्क रहेको छ ।
रत्नपार्क परिसरभित्र म्युजिक भिडियो र चलचित्र छायाँंकनका गर्नेहरुको पनि भिडभाड हुने गर्छ । त्यसबापत लाग्ने शुल्क छुट्टै तिर्नुपर्ने इकाई कार्यलय प्रमुख केसीले बताए । उक्त छायांकन शुल्क निर्धारणका लागि पनि इकाईले निश्चित मापदण्ड तोकेको छ ।
सानो म्युजिक भिडियो छायांकनका लागि ४ हजार, टेलिचलचित्रका लागि ५ हजार, चलचित्रका लागि ७ हजार र विदेशी चलचित्र छायांकनका लागि १० हजार रुपैयाँ प्रतिदिन शुल्क निर्धारण गरिएको छ ।
२०७२ असार १५ गतेबाट शुल्क लिएरमात्र प्रवेश गर्ने व्यवस्था लागू गरेपछि रत्नपार्कको आम्दानी र स्वरुप फेरिएको छ । महानगरपालिका अन्तर्गतको वातावरण व्यवस्थापन विभाग र रत्नपार्क तथा रानीपोखरी इकाइबाट अहिले १८ जनाले रोजगारी पाईरहेका छन् । दैनिक सरसफाईका लागि ५, बगैंचा व्यवस्थपन गर्न ६ जना, प्रशासन र सरक्षामा ७ जनाले काम गरिरहेका छन् ।