
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीका नेता र कार्यकर्ताको झोलामा के छ ? भन्नेहरूका लागि जवाफ दिएका छन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले झोले पोस्टर सार्वजनिक गरेपछि सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत ‘झोले बहस’ भइरहेको बेला उनले सात बुँदामा जवाफ दिँदै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न गौरवका साथ एमालेको झोला बोक्न आग्रह गरेका हुन् ।
'समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेकपा(एमाले)को गौरवपूर्ण झोलालाई गौरवका साथ बोकौं,' उनले लेखेका छन्, 'प्रतिक्रियावादी, प्रतिगामी, अराजकतावादी र कम्युनिष्ट विरोधीहरूले नेकपा(एमाले)का विरुद्धमा सिर्जना गरेका सबै प्रकारका भ्रमहरूबाट नेपाली समाजलाई मुक्त गर्ने अभियानमा जुटौं ।'
नेकपा (एमाले)का नेता र कार्यकर्ताको झोलामा के छ ?
यस्तो छ महासचिव पोखरेलको जवाफ :
१ मार्क्सवादी दर्शनः द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद
२ मार्क्सवादको सिर्जनात्मक विकासका क्रममा विकसित जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्त
३ जबजको प्रयोग र विकासका क्रममा विकसित परिपूर्ण लोकतन्त्रको नविन मान्यता
४ असंलग्नता र पंचशीलको सिद्धान्तमा आधारित नेपालको हित केन्द्रित सन्तुलित परराष्ट्र नीति
५ जबजको सिद्धान्तमा आधारित पार्टी जीवनको लोकतान्त्रिकरणको नयाँ मान्यता
६ जनतासँगको घनिष्ठ सम्वन्धमा आधारित जीवनशैली र आचरणको गौरवपूर्ण परम्परा
७ प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र