
गृहसचिव गोकर्णमणी दुवाडीले विपद्को सामना गर्न विश्वव्यापी सहकार्य आवश्यक रहेको बताएका छन् ।
जुन २ देखि ६ सम्म स्विट्जरल्यान्डको जेनेभामा सञ्चालन भइरहेको विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी प्लेटफर्ममा नेपाल सरकारका गृहसचिव दुवाडीले जलवायु परिवर्तन तथा प्रकोप न्यूनीकरणका लागि वित्तीय प्रवाह बढाउने विषयको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
त्यसक्रममा सचिव दुवाडीले विपद् जोखिमको पूर्वतयारी र त्यसको कार्यान्वयनको लागि नेपालको स्थितिको बारेमा जानकारी गराए ।
यसका साथै विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी समन्वयको जरुरी रहेकोमा उनले जोड दिए ।
त्यस अवसरमा उनले नेपालमा विभिन्न प्राकृतिक जोखिम रहेको उल्लेख गर्दै यसको पूर्वतयारी र समाधानको लागि नेपाल सकारले उच्च प्राथमिकताका साथ आफ्नो प्रयास र कार्यलाई निरन्तरता दिएको बताए ।
सम्मेलनमा विश्वभरिका विपद् व्यवस्थापन र विपद् जोखिम न्यूनीकरणका विविध विषयमा छलफल तथा सम्बन्धित मुलुकका असल अभ्यासहरू प्रस्तुत गरिएका थिए ।
विश्वमा विपद् व्यवस्थापनको लागि चलेका असल अभ्यास र एकअर्कामा गर्नुपर्ने सहयोगका विषयमा समेत यस प्रकारका सम्मेलन फलदायी हुने आशा गरिएको छ ।
यसअघि सो सम्मेलनलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तरनिकाय समन्वय तथा विश्वव्यापी सहकार्यको आह्वान गरेका थिए ।
विपद् स्वयंसेवक तथा विपद् सूचकमार्फत विपद्जन्य अवस्थामा छिटो सूचना प्राप्तिका साथसाथै व्यवस्थापनमा सहकार्य र सहजता आउने उनको भनाइ थियो ।