०८ साउन २०८३, शुक्रबार
भ्रष्टाचार मुद्दा लागेपछि माधवको प्रतिक्रिया

केपी ओली मेरो करिअर समाप्त पार्न लागे, जे भए पनि सामना गर्छु- माधव नेपाल

जेठ २२, २०८२
काठमाडौं
केपी ओली मेरो करिअर समाप्त पार्न लागे, जे भए पनि सामना गर्छु- माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो करिअर समाप्त पार्न लागेको प्रतिक्रिया दिएका छन् ।

बिहीबार पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् । 

‘केपी ओली मेरो विरुद्धमा शुरूदेखि नै लाग्नुभएको हो । उहाँ मेरो राजनीतिक करिअर समाप्त पार्ने नियतले लाग्नुभएको छ,’  मुद्दा दायर भएपछि रौतहटमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपालले भने, ‘अहिले मात्रै होइन पहिले पनि ममाथि यस्तो पटकपटक कोसिस गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो ।’

नेपालले अबको प्रक्रियाको सामना गर्ने पनि बताए । अध्यक्ष नेपालले यो जग्गा प्रकरणमा लाभ उठाउने कुनै नियत नपालेकोले सबै प्रक्रियाको सामना गर्ने बताएका हुन् । 

‘म आफैं कुनै पनि नियतबाट लाभ उठाएर भ्रष्टाचार गर्ने र  कुनै पनि कामको निम्ति आदेश दिने काम मबाट भएको छैन । त्यसको विरोधमा छु,’ नेपालले भने, ‘अब जे जस्तो प्रक्रिया हुन्छ सामना गर्छु ।’

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले कम्पनी सञ्चालनका लागि लिएको हदबन्दीभन्दा बढी जग्गा राख्न तथा सट्टापट्टा र बिक्री गर्न दिन २०६६ मा प्रधानमन्त्री हुँदा नेपालले मन्त्रिपरिषद्‌बाट निर्णय गराएका थिए । 

हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, कम मूल्यमा किनेर बढी मूल्यमा बेचेको आरोप लागेको  छ । १८ करोड ५८ लाख ५० हजार बिगो दाबी गर्दै अख्तियारले नेपालविरुद्ध मुद्दा दायर गरेको हो ।

मुद्दा दायर भएसँगै नेपालको प्रतिनिधिसभा सदस्य पद निलम्बनमा परेको छ । 

salt training

कमेन्ट गर्नुहोस्