
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सबै पार्टी र नेताहरू एकै हुन् भन्ने गलत भाष्य निर्माण गर्न नहुने बताएका भएका छन् ।
एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबार भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै गुरुङले नेकपा एमाले अन्य पार्टी र एमालेका नेताहरू अन्य पार्टीका नेताभन्दा फरक भएका बताए ।
एमाले विचार र दृष्टिकोणमा सबैभन्दा अब्बल, सबैभन्दा उत्कृष्ट विचार र दृष्टिकोण भएको पार्टी भएको उनको दाबी छ । यति हुँदाहुँदै पनि पार्टीभित्र देखिएको सांगठनिक अराजकता र दक्षिणपन्थी अवसरवादका कारण एमाले कमजोर बन्दै गएको उनको धारणा छ ।
पार्टीभित्र कम्युनिस्ट पार्टीका पाँच प्रमुख सिद्धान्त कमजोर हुँदा अराजकता र अवसरवाद मौलाउँदै गएको उनले बताए ।
‘त्यसैले हाम्रो कार्यशैली र आचरणमा सुधार हुन आवश्यक छ, जहाँ कमजोरी र अनुशासनहीनता देखिएको छ त्यसलाई फाल्नुपर्छ । एमाले हार्छ भने आफ्नै कारणले हार्छ, अरू कसैले हराउन सक्दैन’, उनले भने ।
आफूले टिकट पाउँदा ठीक, नपाउँदा सबै बेठीक हुने आत्मकेन्द्रित विचार बोक्ने पार्टीका नेता कार्यकर्ताले पार्टी समाप्त हुने उनको भनाइ छ । व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने व्यक्ति केन्द्रित विचारले पार्टी अघि नबढ्ने उनले बताए ।
यसलाई अन्त्य गर्न एमालेले शुद्धीकरण अभियान चलाएको भए पनि त्यो अभियान सफल हुन नसकेको उनले बताए । त्यसैले पार्टी सोचे जसरी अघि बढ्न नसकेको उनको भनाइ छ । उनले यति हुँदा हुँदै पनि निराश हुने अवस्था नरहेको बताए ।
एमाले, कांग्रेस र माओवादीको एजेण्डा छुट्टिएन भन्ने आरोप अहिले जनस्तरबाट लागेको बताउँदै उनले त्यसमा भिन्नता देखिनुपर्ने बताए । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका गुरुङले यसका लागि सबैभन्दा बढी पार्टीबाट निर्वाचित जनप्रतिनिधि जिम्मेवार हुनु पर्नेमा उनले जोड दिए ।