१७ असार २०८३, बुधबार

स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाउन उद्योगमन्त्री भण्डारीको आग्रह

जेठ २२, २०८२
बैतडी
स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाउन उद्योगमन्त्री भण्डारीको आग्रह

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सीमावर्ती क्षेत्रका उद्यमीले स्वदेशी उत्पादन वृद्धि गर्दै भारततर्फ निर्यातमा ध्यान दिनुपर्ने बताएका छन्।

बैतडीको देहिमाडौँमा आयोजित इण्डो–नेपाल अन्तरराष्ट्रिय व्यापार मेला उद्घाटन कार्यक्रममा उनले उद्यमीहरूलाई उत्पादन वृद्धि गरी निर्यातमुखी बन्न आह्वान गरे। सरकार उद्योगमैत्री नीतिहरू कार्यान्वयन गर्दै आएको उल्लेख गर्दै उनले युवा तथा महिला उद्यमीका लागि सहुलियत कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिए।

सीमावर्ती भारतीय बजारबाट ठूलो परिमाणमा सामान आयात भइरहेकाले सोही अनुपातमा निर्यातजन्य उत्पादन बढाउनुपर्ने उनको भनाइ थियो।

मन्त्री भण्डारीले विकास निर्माणका परियोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। झुलाघाटस्थित महाकाली नदीमा निर्माण हुन लागेको मोटरेबल पुलको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै उनले आगामी भारत भ्रमणका क्रममा थप प्रगति हुने बताए।

बैतडी लगायत सुदूरपश्चिम प्रदेशको आर्थिक, भौतिक तथा पर्यटकीय विकासमा आफू केन्द्रित रहेको बताउँदै उनले स्थानीयसँग गरेका प्रतिबद्धता पूरा गर्ने प्रयास जारी रहेको उल्लेख गरे।

उनले सुदूरपश्चिमलाई सम्भावनाको खानीका रूपमा चित्रण गर्दै प्राकृतिक स्रोतसाधन, जैविक विविधता, पर्यटन, कृषि, ऊर्जा र पूर्वाधार विकासका क्षेत्रमा व्यापक सम्भावना रहेको बताए। वन स्रोत, जडीबुटी, खानी, जलस्रोत, खेतीयोग्य जमिन र पशुपालनजस्ता क्षेत्रको सदुपयोग गरी आर्थिक वृद्धि सम्भव हुने उनले उल्लेख गरे।

सरकारले उद्योगमैत्री बजेट ल्याएको दाबी गर्दै उनले यस्तो नीति क्षेत्रीय समृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

इण्डो–नेपाल अन्तरराष्ट्रिय व्यापार मेला यही जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।

कमेन्ट गर्नुहोस्