२९ जेठ २०८३, शुक्रबार

मुट्ठीभरका भाग्यमानी आठ धनी र संसारका असंख्य अभागी !

कात्तिक २०, २०७४
मुट्ठीभरका भाग्यमानी आठ धनी र संसारका असंख्य अभागी !
सन् २०१५ मा विश्वका सबभन्दा धनाढ्य ६२ जनासँग साढे तीन अरबभन्दा बढी गरीब र जोखिममा परेका मानिसको जति सम्पत्ति थियो । सन् २०१६ मा जम्मा आठजनासँग त्यो सम्पत्ति थुप्रियो र ती सबै पुरुष थिए ।


अक्सफामको कार्यकारी निर्देशकका रूपमा म यो तथ्य बढाईचढाई प्रस्तुत गरिरहेको छुइनँ । विश्वव्यापी असमानतासम्बन्धी नयाँ तथ्यांकले विश्वका गरीबहरूसँग हामीले सोचेभन्दा कम सम्पत्ति रहेको देखाएको छ । यो वर्ष हामीले पाएको विस्तृत तथ्यांकलाई अघिल्लो वर्षको अनुमानमा लागू गरेर हेर्दा सन् २०१५ मा नौ पुरुषसँग तल्लो तहका जनसंख्याको भन्दा बढी सम्पत्ति थियो भन्ने पत्ता लाग्छ ।

केही भाग्यमानीहरू र बाँकी हामीहरूका बीचको खाडलको असर सबैतिर महसूस गरिएको छ तर बिर्सिएका गरीबहरूमा यसको चर्को असर परेको छ ।

संसारको जनसंख्यामा नौमध्ये एक व्यक्ति प्रत्येक रात भोकै सुत्छ र १० प्रतिशतले अहिले पनि दिनको २०० रुपैयाँभन्दा कम कमाउँछन् । अनि अत्यधिक धनाढ्यले तीव्र रूपमा सम्पत्ति जोडिरहेका छन् जसका कारण आगामी २५ वर्षभित्र संसारको पहिलो खरबपति पनि देख्न पाइनेछ । यो संख्याको खेलभन्दा धेरै ठूलो कुरा हो । यी आँकडाले करोडौं मानिसलाई बाहिर पार्ने आर्थिक प्रणालीलाई प्रतिबिम्बित गर्छन् र थप उज्ज्वल तथा समृद्ध भविष्य आउन दिँदैनन् ।

असमानतासम्बन्धी अक्सफामको पछिल्लो प्रतिवेदन स्विट्जरल्यान्डको डाभोसमा भइरहेको वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठककै अवसरमा सार्वजनिक भएको छ । यसले हाम्रो अन्यायी अर्थतन्त्रका प्रक्रिया उजागर गर्छन् र यसलाई फेरि सन्तुलनमा ल्याउनका लागि उपाय सुझाउँछ । कसरी अत्यधिक धनीहरूको नेतृत्वमा रहेका ठूला संस्थानहरूले करछली गरिरहेका छन्, मजदुरको न्यूनतम ज्याला घटाइरहेका छन्, उत्पादकहरूलाई दिनुपर्ने मूल्य कटाइरहेका छन् र आफ्ना धनी शेयरहोल्डरहरूलाई अधिकतम प्रतिफल दिलाउनका लागि आफ्ना व्यापारमा कम लगानी गरिरहेका छन् भन्ने देखाउँछ । अत्यधिक धनीहरूले आफ्नो स्वार्थ र नाफाका लागि जुनसुकै तिकडम गर्ने गरेका अनेकौं दृष्टान्त भेटिन्छन् । हाम्रा राजनीतिक नेताहरू यिनै धनीहरूप्रति नतमस्तक छन् ।

तर धन गरीबहरूकोमा पुग्दैन । अक्सफाम, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक सबैलाई यो थाहा छ । गरीब जनतालाई यो पहिलेदेखि नै थाहा थियो । त्यसैले सरकारहरूले कुल गार्हस्थ्य उत्पादनलाई जुनसुकै तरिकाले भएपनि बढाउन खोज्दा यस्तो आर्थिक प्रणाली बनाउन पुग्छन् जसका कारण गरीबी, रोग, शोषण र अभावबाट आक्रान्त करोडौं मानिसलाई हानि पुग्छ ।

प्रतिभामा आधारित शासन पनि मिथक मात्र हो । संसारका सबभन्दा धनी मानिसले कठोर मेहनत गरेर सम्पत्ति जोडेका होइनन् । संसारका आधाभन्दा बढी अरबपतिहरूले कि त पुर्ख्यौली सम्पत्ति हात पारेका हुन् कि त भ्रष्टाचार र घोर पूँजीवादमार्फत धन जोडेका हुन् ।

तर यी दुष्कर्महरूलाई सच्याउन सकिन्छ । साहसी, बुद्धिमत्तापूर्ण र व्यावहारिक समाधान अहिल्यै उपलब्ध छन् । उनान्सय प्रतिशत जनसंख्यालाई हित गर्ने आर्थिक प्रणाली बनाउन सम्भव छ । हुन पनि ब्रेक्जिट, डोनाल्ड ट्रम्प र रोड्रिगो डुटेर्टेको विजय अनि दक्षिण अफ्रिकामा सत्तारूढ अफ्रिकन नेसनल कंग्रेसप्रतिको समर्थनमा कमी लगायत सन् २०१६ मा भएका राजनीतिक उथलपुथलले यस्तो प्रणाली बनाउन ढिलो भइसकेको संकेत दिएका छन् । यी सबै प्रकरणमा जनताहरूले आफ्नो रोष प्रकट गरेका हुन् ।

हामी अस्थिर र हिंस्रक संसारमा बाँच्दैछौं जहाँ गरीब मानिस, विशेषगरी महिला, लाई अरूभन्दा कम आँकिदैछ । तर थप असमानतातर्फको यो प्रवृत्तिलाई उल्ट्याउनु सबैको हितमा छ । केही भाग्यमानी मात्र नभई सबैका लागि काम गर्ने अर्थतन्त्र निर्माण गर्न सकिन्छ । तर हामी अहिलेकै बाटो हिँडिरह्यौं भने हामीले गरीबी उन्मूलनका लागि अहिले गरिरहेको प्रयास पनि खेर जान्छ ।

वर्ल्ड इकोनोमिक फोरमको यस वर्षको विषय हो ‘जिम्मेवार नेतृत्व’ । अनि समृद्धिको फल सबैले पाउने किसिमको संसार बनाउनका लागि सरकारहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने त छँदैछ, डाभोसमा भेला भएका अत्यधिक धनीले पनि यो जिम्मेवारी वहन गर्नुपर्छ ।

उनीहरूका लागि प्रस्ट सन्देश छ : थप समावेशी अर्थतन्त्रका लागि पुनर्वितरण जरूरी छ । गरीबी अन्त्यका लागि सरकारहरूले थोरै व्यक्तिसँग सम्पत्ति थुप्रिने वातावरण बन्न दिनु हुँदैन । यसका लागि करछलीलाई दण्डित गरेर मात्र पुग्दैन, सम्पत्ति कर र उच्च आयमाथि पनि करको दायरा बढाउनुपर्छ । यसले बराबरीको स्थिति ल्याउँछ अनि स्वास्थ्यसेवा, शिक्षा र रोजगारीमा खरबौं रुपैयाँ लगानी गर्नका लागि स्थिति बनाउँछ ।

लेखिका व्यानिमा

तर पुनर्वितरण मात्रले काम गर्दैन । सबैलाई समृद्धिका लागि हामीले आर्थिक प्रणाली नै परिवर्तन गर्नुपर्ने हुन्छ । सरकारहरूले आफ्नो असफलता लुकाउनका लागि बजार र प्राविधिक परिवर्तनको बहाना बनाउन छोड्नुपर्छ । उनीहरूले व्यापारिक संस्थालाई आफ्ना निर्णयको सामाजिक प्रभावमाथि विचार गर्न लगाउनुपर्छ, प्राविधिक विकासको दिशा तय गर्नुपर्छ र न्यूनतम ज्याला घटाउने दौडमा सामेल हुन बजार नियमन गर्नुपर्छ अनि वित्तीय संस्थामाथि कर लगाउनुपर्छ ।

मानवजातिसँग राम्रो काम गर्ने प्रतिभा र कौशल छ । केही मानिसले यथास्थितिका कारण नाफा कमाए भन्दैमा काम नलाग्ने अर्थतन्त्र स्वीकार गर्नुपर्ने हामीलाई बाध्यता छैन । यो लोकतन्त्र होइन । जनतालाई प्राथमिकतामा राख्नु अनि सबैजनालाई भाग्यमानी बनाउनु नै राजनीतिक र आर्थिक समझदारी हो ।

अक्सफाम इन्टरनेसनलकी कार्यकारी निर्देशक विन्नी ब्यानिमाले माघ ३ गते प्रोजेक्ट सिन्डिकेटमा प्रकाशन गरेको लेख ‘द फोर्चुनेट फ्यु एन्ड र फर्गटन मेनी’को अनुवाद

अनुवादक : विन्देश दहाल

salt training

कमेन्ट गर्नुहोस्