
पठाओ नेपालले बाल अस्पताल निर्माणमा सहयोग गर्ने उद्देश्यले ‘राइड फर अ कज’ अभियान’ शुरू गरेको छ ।
डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई सहयोग गर्ने उद्देश्यले यही जेठ २७ गतेदेखि असार २ गतेसम्म उक्त अभियान सञ्चालन गरिएको पठाओ नेपालकी मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् ।
आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले उक्त अभियान शुरू गरिएको उनको भनाइ छ ।
अभियानअन्तर्गत प्रत्येक राइडबाट प्राप्त हुने रकमबाट केही हिस्सा बाल अस्पतालका लागि छुट्याइनेछ । यसरी छुट्याइने
रकम राइडरबाट नभई कम्पनीको आम्दानीबाट कट्टा गरिनेछ', हमालले भनिन्, 'पठाओ नेपालको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अभियान सञ्चालन गरिएको हो ।'
अभियानबाट संकलन हुने रकम बालमैत्री अस्पताललाई दिइने उनले बताइन् । उक्त रकमबाट अस्पतालको भवन निर्माण र अस्पतालको उपकरण खरिद लगायतमा खर्च हुनेछ । डा. कोइरालाको नेतृत्वमा बन्न लागेको उक्त अस्पताल नेपालमा बाल स्वास्थ्य सेवा सुलभ र प्रभावकारी बनाउने उद्देश्यका साथ निर्माणाधीन छ ।
डा. कोइरालाले काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल निर्माणको अभियान अघि सारेका छन् ।
* यस लिंकमा यसअघि प्रकाशित समाचारमा उल्लेखित विवरण 'अफिसयल अप्रुभलविनै भुलवश सार्वजनिक भएको' भन्दै पठाओले पत्राचार गरेकाले क्षमायाचनासहित सच्च्याइएको छ ।