०२ साउन २०८३, शनिबार
आईसीसी क्रिकेट विश्वकप लिग २

उत्कृष्ट बलिङपछि नेपालले नेदरल्याण्ड्सलाई हरायो, नन्दनलाई ‘डेब्यु’मै तीन विकेट

जेठ २८, २०८२
काठमाडौं
उत्कृष्ट बलिङपछि नेपालले नेदरल्याण्ड्सलाई हरायो, नन्दनलाई ‘डेब्यु’मै तीन विकेट

‘डेब्यु’ खेलमा नै नन्दन यादवले उत्कृष्ट बलिङ गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी शृंखलाको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सलाई हराएको छ ।

किफायती बलिङ आक्रमणमा उत्रिएको नेपालले त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्सलाई १६ रनले हराउन सफल भएको हो । शृंखलामा यो नेपालको तेस्रो जीत हो भने नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको हो । पहिलो खेलमा पनि नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो । 

नेपालको जितमा नन्दन र सन्दीप लामिछानेले तीन/तीन विकेट लिए । नन्दनले ९ ओभरमा १ मेडन राख्दै ३९ रन खर्चेर ३ विकेट लिए। 

ललित राजवंशीले दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एक/एक विकेट हात पारे ।

नेदरल्याण्ड्सका लागि वास्ली बारेसीले सर्वाधिक ३६ रन बनाए भने स्कट एडवार्डले ३० र केले केलिनले २५ रन बनाए । उसका लागि ओपनर मिचेल लेभिटले २७ रन बनाउँदा नोहा क्रोएसले २२ र तेजा निदामानुरुले १७ र रोएलोफ भान डेर मेरवेले १६ रन बनाए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ८४ रन बनाए । 

null

यसैगरी भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५/३५ रन बनाए । यस्तै, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११/११ तथा नन्दन यादवले १० रन बनाए । सन्दीप लामिछाने दुई रन जोड्दै आउट भए । 

नेदरल्याण्ड्सका लागि पउल भान मिकेरनले चार विकेट लिँदा माइकल लेभिटले तीन तथा आर्यन दत्तले एक विकेट लिए । 

नेपालले नेदरल्याण्ड्ससँग यसअघि भएको खेलमा पनि जित निकालेको थियो । योसँगै नेपालले यस शृंखलाका ४ मध्ये ३ खेलमा जित निकालेको छ ।

योसँगै लिग २ शृंखलामा नेपालको १६ खेलबाट १२ अंक भएको छ र सातौं स्थानमा छ । नेदरल्याण्ड्सको २३ खेलमा २६ अंक छ ।

salt training

कमेन्ट गर्नुहोस्