२७ जेठ २०८३, बुधबार

दुर्घटना न्यूनीकरणका लागि ​जनचेतनामूलक 'ट्राफिक सप्‍ताह'

जेठ २८, २०८२
पर्सा
दुर्घटना न्यूनीकरणका लागि ​जनचेतनामूलक 'ट्राफिक सप्‍ताह'

​​पर्सामा सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम गरेर ट्राफिक सप्‍ताह मनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले यही जेठ २२ गतेदेखि आजसम्म ट्राफिक सप्‍ताह मनाएको हो । 

कार्यालयले चोक–चोकमा र विद्यालय–विद्यालयमा पुगेर सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक जनचेतनामूलक कार्यक्रम गरेको हो ।

ट्राफिक सप्‍ताहको समापनमा वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले ट्राफिक जनचेतनामूलक कार्यक्रम एकदिन मात्रै नभएर ३६५ दिन आवश्यक रहेको बताए । 'ट्राफिक नियम पालना गराउने जिम्मेवारी ट्राफिक प्रहरीको मात्रै होइन,' उनले भने, 'ट्राफिक नियमको पालना सामूहिक रूपमा गरेर अघि बढेको खण्डमा प्रभावकारी हुन्छ ।'​​

​नगरप्रमुख सिंहले एक अर्को निकायलाई दोषारोपण गर्नेभन्दा सामूहिक रूपमा ट्राफिक नियम कार्यान्वयन गर्नुपर्ने बताए । महानगरका उपप्रमुख इम्तियाज आलमले ट्राफिक नियम सहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि पालना गर्नुपर्ने बताए । 

निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले नेपालमा सवारी दुर्घटनामा दैनिक सात जनाको ज्यान जाने भएकाले ट्राफिक नियमको पालना कडाइपूर्वक गर्नुपर्ने बताए ।

'सवारी दुर्घटनामा परेर अकालमै मृत्यु हुनेको तथ्याङ्क बढेको छ । त्यसैले सरोकारवाला निकायले समन्वय गरेर सवारी दुर्घटना न्यूनीकरण गर्नेतर्फ अघि बढ्न जरुरी भइसकेको छ,' उनले भने ।

पर्सामा चालु आर्थिक वर्षको जेठ २७ गतेसम्ममा सवारी दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ ।

पर्साका प्रहरी प्रमुख गौतम मिश्रले ट्राफिक प्रहरीसँग पर्याप्त मात्रामा पूर्वाधार नहुँदा काम गर्न अप्ठ्यारो परेको गुनासो गरे । 'सडकमा अत्यावश्यक संरचनाको अभाव छ । जसका कारण ट्राफिक प्रहरी एक्लैले सबै समस्या समाधान गर्नसक्ने अवस्था छैन,' उनले भने, 'वीरगञ्ज महानगरलगायतका स्थानीय सरकारले सडकमा आवश्यक बत्ती र अन्य सडक फर्निचरको प्रबन्ध मिलाइदिने हो भने ट्राफिक व्यवस्थापनमा धेरै सहज हुने थियो ।'

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख लोकराज भट्टले सप्ताहव्यापी अभियानअन्तर्गत पर्साका चोक-चोकमा ट्राफिक जनचेतनामूलक कार्यक्रम गरेको जानकारी दिए ।

यातायात व्यवसायीको तर्फबाट जगतसाह कानूले यस्ता रचनात्मक कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरणमा सघाउ पुर्‍याउने बताए ।

ट्राफिक जनचेतना कार्यक्रममा विद्यार्थीहरूको सहभागिता  थियो ।

salt training

कमेन्ट गर्नुहोस्