
पञ्जाबी हिप–हप स्टार सिद्धू मुसेवालाको तीन वर्षअघि भएको हत्याको रहस्यबारे ग्याङस्टर गोल्डी बरारले नयाँ दाबी गरेका छन् । बीबीसी वर्ल्ड सर्भिससँगको विशेष संवादमा उनले मुसेवालालाई आफैंले मार्न आदेश दिएको स्वीकारेका छन् ।
मुसेवालाको तीन वर्षअघि भाडामा लिइएका बन्दुकधारीहरूले उनको गाडीको सिसामा गोली प्रहार गरेर हत्या गरेका थिए । यो हत्या त्यस्तो थियो, जसले सिङ्गो भारतलाई हल्लाएको थियो ।
घटनाको केही घण्टामै ‘गोल्डी बरार’ नामका एक पञ्जाबी ग्याङस्टरले हत्या गराउने आदेश आफूले दिएको सामाजिक सञ्जालमार्फत् दाबी गरेका थिए । तर, हत्या भएको तीन वर्ष बितिसक्दा पनि अहिलेसम्म कसैविरुद्ध मुद्दा चलाइएको छैन र गोल्डी बरार अझै फरार छन् । उनको ठेगानाबारे पनि केही पत्ता लागेको छैन ।
यद्यपि, बीबीसीले बरारसँग सम्पर्क गर्न सफल भएको छ र सोधेको छ– सिद्धू मूसेवालालाई कसरी र किन लक्षित गरियो?
बरारले बीबीसी वर्ल्ड सर्भिसलाई भनेका छन्, ‘आफ्नो अहंकारमा उनले (मुसेवालाले) केही त्यस्ता गल्तीहरू गरे, जुन माफ गर्न सकिने थिएन।’
‘हामीसँग उनलाई मार्नुबाहेक अर्को विकल्प थिएन। उनले आफूले गरेको कर्मको परिणाम भोग्नैपर्थ्यो। या त उनी मर्थे, या हामी। यत्ति नै सरल कुरा हो,’ बरारले भनेका छन्।
यस्तो थियो घटना
२०२२ को मे महिनाको गर्मी साँझ, पञ्जाबको एउटा गाउँका गल्लीहरू हुँदै सिद्धू मुसेवाला आफ्नो कालो महिन्द्रा थार एसयूभी चलाउँदै गइरहेका थिए। केही मिनेटमै दुईवटा गाडीले उनलाई पछ्याउन थाल्यो।
घटनापछि प्राप्त सीसीटीभी फुटेजमा उनी साँघुरा घुमाउरो बाटोहरू हुँदै गइरहेका देखिन्छन्। त्यसपछि सडकको एक मोडमा मुसेवालाको गाडीलाई ठक्कर दिइयो र उनको गाडी भित्तामा ठोक्कियो। उनी गाडीमै थुनिए र केहीबेरमै गोली चल्न थाल्यो।
भिडियो फुटेजमा घटनापछिको अवस्था देखिएको छ। उनको एसयूभी गाडी गोलीले छियाछिया थियो, सिसा फुटेको थियो र बोनट चुँडिएको थियो। काँपिएको आवाजमा वरपर उभिएका मानिसहरूले अचम्म र चिन्ता व्यक्त गरेका थिए।
उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। पोस्टमार्टम रिपोर्टअनुसार उनलाई २४ गोली लागेको थियो। २८ वर्षीय र्यापर तथा पञ्जाबका सबैभन्दा ठूला सांस्कृतिक आइकन मुसेवालाको दिनदहाडै गोली हानी हत्या गरिएको थियो।
घटनाको समयमा मुसेवालासँग गाडीमा रहेका उनका एकजना सम्धी र एकजना साथी घाइते भए, तर बाँच्न सफल भए। अन्ततः ६ जना बन्दुकधारीको पहिचान गरिएको छ। उनीहरूसँग एके–४७ र पिस्तोलहरू थिए।
बन्दुकधारी पहिचान, बरार अझै फरार
हत्या भएको केही हप्तामै करिब ३० जनालाई पक्राउ गरियो र दुई जना शंकास्पद बन्दुकधारीहरू प्रहरी मुठभेडमा मारिएको जनाइयो। यद्यपि, धेरै जना पक्राउ भए पनि हत्या किन गरिएको हो भन्ने कुरा अझै प्रस्ट भइसकेको छैन।
गोल्डी बरार, जसले हत्या गराउने आदेश दिएको दाबी गरेका छन्, घटना हुँदा भारतमै थिएनन्। उनी क्यानडामा रहेको विश्वास गरिन्छ।
बरारलाई बिश्नोई गिरोहका सञ्जालमा प्रमुख ‘अपरेटर’ मानिन्छ। उनी हत्या योजना बनाउने, धम्की दिने र ग्याङको पहुँच विस्तार गर्ने काममा संलग्न छन्।
मानिन्छ कि उनी मुसेवालाभन्दा एक वर्षपछि, २०१७ मा क्यानडा गएका थिए। शुरूमा उनी ट्रक चालकको रूपमा काम गर्थे।
बिश्नोई गिरोहको उदय र हिंसाको नेटवर्क
बिश्नोई भने विद्यार्थी नेता थिए र पञ्जाबका क्याम्पसहरूको हिंसात्मक राजनीति सँगै जोडिए। पछि उनी भारतका सबैभन्दा खतरनाक आपराधिक मास्टरमाइन्डमध्ये एक बने।
द ट्रिब्युन का उप–सम्पादक जुपिन्दरजीत सिंहका अनुसार, बिश्नोईमाथि प्रारम्भमा दर्ता गरिएका सबै मुद्दाहरू विद्यार्थी राजनीति र निर्वाचनसँग जोडिएका थिए, जसमध्ये विरोधी विद्यार्थीमाथि आक्रमण, अपहरण र हानि पुर्याउने कार्य प्रमुख थिए।
पञ्जाब प्रहरीको एण्टी–ग्याङस्टर टास्क फोर्सका सहायक प्रहरी निरीक्षक गुरमीत सिंह चौहानका अनुसार, ‘जेल पुगेपछि उनी अपराधमा झनै गहिरो रूपमा लागे। त्यसपछि उनले आफ्नो समूह बनाए। जब यो अन्तरग्याङको मुद्दा बन्यो, उनी बाँच्छन् भने पैसा चाहिन्थ्यो। उनलाई जनशक्ति र हतियार चाहिन्थ्यो। यी सबैका लागि पैसा चाहियो। यही पैसाको लागि जबर्जस्ती उठाउने र अपराधमा संलग्न हुनुपर्ने भयो।’
बरारले हत्या गर्नुपर्ने कारण के बताए?
बरारसँग यसबारे कुनै ठोस प्रमाण छैन, तर उनलाई गहिरो विश्वास छ कि गायक (मुसेवाला) विक्की मिद्दुखेडाको हत्यामा संलग्न थिए।
बरारले बारम्बार भने अनुसार, मिद्दुखेडाको हत्या हुनुअघि शगनप्रीत सिंहले ती बन्दुकधारीहरूलाई मद्दत गरेका थिए र अनुमान गर्छन् कि मूसेवालाको पनि त्यही घटनामा संलग्नता थियो।
बरारले बीबीसीसँग भने, ‘सिद्धूको भूमिका सबैलाई थाहा छ। अनुसन्धान गरिरहेका प्रहरीलाई थाहा छ, अनुसन्धान गरिरहेका पत्रकारलाई थाहा छ। सिद्धू राजनीतिज्ञहरूसँग र सत्तामा रहेका मानिसहरूसँग मिलेका थिए। उनी राजनीतिक शक्तिको, पैसाको र स्रोतहरूको प्रयोग गरेर हाम्रा विरोधीहरूलाई सहायता गरिरहेका थिए।’
‘हामी चाहन्थ्यौं कि उनले गरेका कार्यको सजाय पाउन्। उनमाथि मुद्दा चल्नुपर्थ्यो। उनी जेल जानुपर्थ्यो। तर, कसैले पनि हाम्रो कुरा सुनेन,’ उनले भनेका छन्, ‘त्यसैले हामी आफैं अगाडि बढ्यौं। जब बहिरा कानले सभ्य भाषामा बोलेको कुरा बुझ्दैन, तब गोलीको आवाज मात्र सुनिन्छ।’
उनले बताएअनुसार, विक्की मिद्दुखेडाका दाजुले राजनीति क्षेत्रमा भए पनि भारतको न्याय प्रणालीबाट न्याय पाउन संघर्ष गर्नु परेको छ।
उनले भने, ‘उनी एक इमानदार व्यक्ति हुन्। उनले आफ्ना दाजुको लागि कानूनी बाटोबाट न्याय पाउन धेरै प्रयास गरे। कृपया उनलाई फोन गर्नुहोस् र सोध्नुहोस् कि सब कुरा कस्तो भइरहेको छ।’ -बीबीसी हिन्दीबाट