
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाको प्रतिरक्षा गर्न कार्यदल गठन गरेको छ ।
अधिवक्ता परिवर्तन राईको संयोजकत्वमा गठित कार्यदलमा अधिवक्ता गजबहादुर ऐरी, अधिवक्ता दुर्गाप्रसाद चिमरिया र अधिवक्ता कपिलदेव ढकाल सदस्य छन् ।
मुद्दामा पार्टीका तर्फबाट कानुनी प्रतिरक्षाका लागि आवश्यक कागजात अध्ययन गरी कार्यदलले सम्मानित अदालतसमक्ष पार्टी सङ्गठनका तर्फबाट प्रतिरक्षा गर्ने केन्द्रीय कानुन विभाग प्रमुख डा देउमान सम्वाहाङ्फेले जानकारी दिए ।
००००
नेपाल कम्युनिष्ट एमालेका सचिव लेखराज भट्टले पार्टीभित्र आन्तरिक एकता हुन जरूरी रहेको बताएका छन् ।
नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र आन्तरिक एकता नभए आगामी निर्वाचनमा उपलब्धि हासिल गर्न कठिन हुने बताए ।
००००
न्युट्रास्युटिकल (खाद्यपूरक) वस्तुको आयातमा ठूलो अनियमितता गरेको आरोपमा पक्राउ परेका न्युट्रास्युटिकल एसोसिएसन मोरङका अध्यक्ष विपिन झा १ करोड ५० लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
राजस्व अनुसन्धान कार्यालय इटहरीले झालाई धरौटीमा रिहा गरेको पुष्टि गरेको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीले झालाई लामो समयको निगरानीपछि पक्राउ गरेको थियो ।
००००
काठमाडौं महानगरपालिका–२२ स्थित प्युखा कृष्णचोकमा सञ्चालित ‘मुन्ना जेम एण्ड ज्वेलर्स’बाट करिब दुई करोड एक लाख रूपैयाँभन्दा बढी मूल्यका सुन, हिरा र बहुमूल्य पत्थरका गहना बरामद गरिएको छ।
भारतको कलकत्ता घर भएका ४३ वर्षीय हाविबोर सेखले सञ्चालन गरेको उक्त पसलमा बिल भरपाई नदेखाइ गरगहना बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले चार जनालाई पक्राउ समेत गरेको छ ।
००००
भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई पक्राउ परेको घटनालाई लिएर विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गरेको १६ दिन पुगेको छ ।
बुधबारको बैठकमा पनि विपक्षी दलले नाराबाजी गरेपछि प्रतिनिधि सभा बैठक बिहीबार दिउँसोसम्मका लागि सारिएको छ ।
जेठ १३ गतेदेखि विपक्षी दलले संसद्मा अवरोध गर्दै आएका छन् ।
शुरूमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका नेकपा माओवादी केन्द्र, रास्वपालगायतका विपक्षी दल पछिल्लो समय संसदीय छानबिन समितिको अडानमा छन् ।
००००
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल तथा मातहतका निकायमा सरुवा भए पनि हाजिर नगराइएका कर्मचारीलाई तीन दिनभित्र हाजिर नगराए कारबाही गर्ने चेतावनी दिएको छ ।
००००
संवैधानिक नियुक्तिविरुद्ध परेका रिटको निसु (निर्णय सुनाउने दिन) असार १८ गतेसम्मलाई सरेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषदको सिफारिशमा नियुक्त गरिएका विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्तिसम्बन्धी रिटको निसु असार १८ लाई सरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
बुधबार नेप्से परिसूचक १३ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६६४ दशमलव ४७ को विन्दुमा कायम भएको हो ।
००००
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग असान्दर्भिक भएको बताएका छन् । गृहमन्त्रीको राजीनामा विना नै संसद्को अवरोध हट्ने उनले बताए ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले बुधबार या बिहीबारसम्म संसद् अवरोध हट्ने बताएका हुन् ।
००००
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
विद्युतीय कारोबार ऐनअन्तर्गत (साइबर)को कसुरमा उजुरी परेपछि पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीको साइबर ब्यूरो स्रोतले जनाएको छ ।
००००
तेस्रो राष्ट्रिय सम्मेलनबाट माओवादी केन्द्रको युवा संगठन वाईसीएलमा ७५ सदस्यीय जम्बो पदाधिकारी बनेपछि नेताहरू वादविवादमा उत्रिएका छन् ।
विधानले ३५ जना पदाधिकारीको व्यवस्था गरे पनि पार्टीले ७५ सदस्यीय पदाधिकारी थोपरेको भन्दै अर्को पक्षले आक्रोश व्यक्त गरेको हो, जसले नेताहरूबीच ध्रुवीकरण बढाएको छ ।
निर्वाचन नगरी केही दिनअगााडि पुष्प ओलीको नेतृत्वमा वाईसीएलको ७५ सदस्यीय पदाधिकारी घोषणा भएको थियो । यसमा ३५१ सदस्यीय केन्द्रीय कमिटी छ ।
थप १५ प्रतिशत मनोनीत गर्ने व्यवस्था पनि गरिएको छ । तर, अन्य पार्टीका संगठनहरू छरितो हुँदैगर्दा वाईसीएलमा ७५ जनाको जम्बो पदाधिकारी बनाउँदा कामकाजी नहुने भन्दै अर्को पक्षले तीव्र असन्तुष्टि व्यक्त गरेको हो ।
अध्यक्ष पुष्प ओलीको नाममा सर्वसम्मत भएपछि पनि तनावको स्थिति आएको छ । जम्बो समितिमा २२ उपाध्यक्ष, १–१ महासचिव र कोषाध्यक्ष, १९ उपमहासचिव र ३१ जना सचिवको व्यवस्था गरिएको थियो । यही जम्बो पदाधिकारीले वाईसीएलमा तनाव बढाएको हो ।