
जापान बसेर फर्किएकी महिलाले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको उजुरी दिएकी छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको महिला सेलमा दिइएको उजुरीमा उल्लेख भएअनुसार उनको विवाह २०७९ भदौ ३ गते सामाजिक परम्परा अनुसार नै भएको थियो । श्रीमान (हाल पक्राउ परेर मुद्दा चलाइएका) विवाह हुनुपूर्व नै जापानमा काम गर्दै आएका थिए ।
पीडित भनिएकी महिला पनि २०८० साउन १९ गते जापान उडिन् । शुरूको एक महिनासम्म त दम्पतीबीच राम्रै सम्बन्ध थियो । ‘एक महिनापछि श्रीमान मदिरा सेवन गरेर मध्यरातमा आउन र इच्छाविपरीत जबर्जस्ती बलात्कार गर्न थाले,’ महिलाले दिएको जाहेरीमा भनिएको छ, ‘तिमीलाई जाप्निज भाषा आउँदैन, मैले मनेको कुरा मान्नुपर्छ, मेरो इच्छाअनुसार चल्नुपर्छ, होइन भने मारिदिन्छु भनेर धम्की दिन थाले ।’
प्रहरीले अनुसन्धान सकाएर मिसिल सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएपछि पुनः महिलाको जाहेरी अध्ययन गरेको थियो । उक्त जाहेरीमा महिलाले लेखेकी छिन्,‘ श्रीमान–श्रीमतीबीच शारीरिक सम्पर्क हुनु स्वभाविक हो तर, इच्छाविपरीत मलाई श्रीमानले योनी, मलद्वार, मुख र कान समेतमा करणी गरी पीडा दिएकाले जाहेरी दिएको हुँ ।’
२०८० असोजदेखि २०८२ जेठ ४ गतेसम्म श्रीमानले आफूलाई जापानमा नारकीय जीवन जिउन बाध्य पारेको महिलाले जाहेरीमा उल्लेख गरेकी छिन् ।
महिलाले जाहेरीमा उल्लेख गरेअनुसार उनले आत्महत्याको प्रयास समेत गर्न खोजेकी थिइन् । तर, परिवारलाई सबै कुरा बताएर मात्रै निर्णय लिने भन्दै नेपालमा रहेकी आफ्नी आमालाई सबै कुरा बताइन् । त्यसपछि आमाकै सल्लाहमा नेपाल आएको उनको बयान छ । ‘श्रीमानले दिएको पीडा मैले नेपालमा रहेकी आमालाई बताएँ, दाजुले पनि सबै थाहा पाउनु भएछ, ज्वाइँलाई फकाएर नेपाल ल्याऊ, अनि कानूनी कारबाही गर्नुपर्छ भन्नुभयो,’ महिलाले जाहेरीमा लेखेकी छिन्, ‘जसोतसो श्रीमानलाई नेपाल फर्किन मनाएँ, हामी २०८२ जेठ ५ गते दुवै नेपाल फर्कियौँ।’
पीडित महिलाले दिएको बयानअनुसार नेपाल फर्किनुअघि २०८२ जेठ ३ गते बिहान १० बजे पनि उनको श्रीमानले पटक–पटक इच्छाविपरीत करणी गरेका थिए ।
नेपाल फर्किएर महिलाले जाहेरी दिएपछि प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको थियो । प्रहरी र सरकारी वकिल दुवैमा उनले इन्कारी बयान दिएका छन् ।
‘जापानमा बस्दा मेरो र श्रीमती दुवैको इच्छाअनुसार नै शारीरिक सम्पर्क हुन्थ्यो, उनले भने जस्तो राति मदिरा पिएर इच्छाविपरीत सम्पर्क गरेको छैन,’ हाल पक्राउ परेका श्रीमानले बयानमा भनेका छन्, ‘जापान जाँदा धेरै ऋण लागेको थियो, दुवैजना भएर ऋण तिर्नुपर्छ, पैसा जम्मा गरौं भन्दा मानिनन्, मसँग झगडा गर्थिन्, मलाई नै हात हाल्न आएपछि दुई झापड लगाइदिएको हुँ ।’ उनले बयानमा श्रीमतीले कुनै गतिविधि नगरेको जिकिर गरेका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जाहेरवाला महिलाका आमा, दाजु र दुईजना दिदीसँग पनि घटना विवरण कागज गराएको छ । आमाले गरेको घटना विवरण कागजमा छोरी (जाहेरवाला महिला)ले जापानबाट फोन गरेर श्रीमानले आफूलाई पटक–पटक इच्छाविपरीत करणी गर्ने गरेको र कुटपिट गर्दै आएको उल्लेख गरेको कुरा खुलाएकी छिन् ।
‘ज्वाइँँले छोरीलाई कुटपिट र इच्छाविपरित करणी गर्दै आएको कुरा छोरीले रुँदै फोनमा बताएपछि मैले ज्वाइँसँग बुझ्ने प्रयास गरेको थिएँ, तर ज्वाइँ बोल्न मान्नुभएन,’ आमाले घटना विवरण कागजमा भनेकी छिन्, ‘यातना सहनुभन्दा नेपाल आऊ भनेर भनेकी हुँ, ज्वाइँविरुद्ध कानूनअनुसार कारबाही होस् ।’
सरकारी वकिल कार्यालयले बुधबार मात्रै जिल्ला अदालत काठमाडौं दर्ता गरेको अभियोग पत्रमा आरोपीविरुद्ध जबर्जस्तीकरणी (वैवाहिक) सप्रमाण पुष्टि हुन आएको उल्लेख गरेको छ ।
‘कसुरदारले इन्कार रही बयान गरेता पनि जाहेरवालाले जाहेरी दरखास्त तथा सो साथ पेश गरेको निलडामको फोटो, यौनजन्य परीक्षणको क्रममा पीडित जाहेरवालाले खुलाएको व्यहोरा तथा स्वास्थ्य परीक्षणले समेत इन्कारी बयान खण्डित हुन जान्छ,’ अभियोग पत्रमा भनिएको छ, ‘तथ्य र प्रमाण समेतका आधारमा प्रतिवादीले आफ्नै पत्नीउपर गरेको जबरजस्ती करणीको कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ९१०, उपदफा ९२० र उपदफा ९४० बमोजिमको जबरजस्ती करणी (वैवाहिक) को कसुर भएको सप्रमाण पुष्टि हुन आयो ।’
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले शिक्षित परिवारभित्रै भएका यस्ता घटनाले प्रश्रय पाउन नहुने बताए ।
उनले भने, ‘पीडित महिलाले दिएको जाहेरी पढ्दा एउटा शिक्षित समाजमा पनि यस्तो घटना हुनु दुर्भाग्यपूर्ण हो भन्ने निष्कर्षमा हामी पुग्यौं, दोषीलाई कडा कारबाहीको माग राख्दै मिसिल सरकारी वकिल कार्यालयमा बुझाएका थियौं ।’