
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन प्रकरणमा पक्राउ परेका दुर्गा प्रसाईंसहितका ३९ जना प्रतिवादीहरूलाई बिहीबार राति अबेरसम्म पनि जिल्ला अदालत काठमाडौंको इजलासबाहिरै राखिएको छ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा आज दिउँसो थुनछेक बहस सम्पन्न भए पनि राति साढे १० बज्दासम्म पुर्पक्ष सम्बन्धी आदेश आउन नसकेको अदालत स्रोतले जनाएको छ।
आदेश आउन ढिला भएकाले तीनकुने घटनाका मुख्य अभियुक्त मानिएका प्रसाईंसहितका प्रतिवादीहरूलाई थुनछेक बहसपछि थुनामा नलगी राति साढे १० बजेसम्म बाहिरै राखिएको हो। यता बहसपछि न्यायाधीश कार्की आदेश लेखनमा बसेका छन्।
आदालतले दिने आदेशले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छोडिने भन्ने निर्णय हुनेछ।