
नेपाली कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पदमार्गहरूलाई पुनर्जीवन दिने दोलखाको जिरीका अभियानकर्मीको प्रशंसा गरेका छन् ।
थेम्बा समूहले निर्माण गरेको 'जिरी एडभेन्चर ट्रेक' नामक डकुमेन्ट्रीको पहिलो सार्वजनिक प्रदर्शनमा शिवाकोटीले पदमार्गहरूलाई पुनर्जीवन दिने अभियानको प्रशंसा गरेका हुन् । उनले भने, 'जिरी एडभेन्चर ट्रेक केवल डकुमेन्ट्री मात्र होइन, पूर्वका पदमार्गहरूलाई पुनर्जीवन दिने एक अभियान हो।'
जिरी दोलखाको गौरव भएको बताउँदै उनले भने, 'इतिहासले सगरमाथा पदमार्गको प्रवेशद्वार बनाएको यो ठाउँ केवल भौगोलिक दृष्टिले मात्र हैन, सांस्कृतिक र पर्यावरणीय दृष्टिले पनि महत्त्वपूर्ण छ । जिरी र यस आसपासका पर्यटकीय गन्तव्यहरू चेर्दुङ, भुतपोखरी, पाँचपोखरी, जटापोखरी सँगसँगै दोलखाका अन्य गन्तव्यहरूलाई पनि धार्मिक र साहसिक पर्यटनमा जोड्नु आवश्यक छ। दोलखा भीमसेन, च्छोरोल्पा, लप्ची गुम्बा, कालिन्चोक, चिलङ्खा, सैलुङ, बिगु, सुनखानी, क्षमावती, हनुमन्ते, सिंगटी हुँदै तामाकोशी किनारका थुप्रै क्षेत्रहरू पर्यटन सम्भावनाको खानी हुन्।'
नेता शिवाकोटीले केवल काठमाडौं र पोखरालाई मात्रै नभई पश्चिम र पूर्वको सन्तुलित पर्यटन विकासको दृष्टिकोण लिनु आवश्यक रहेको बताए । यसका लागि सडक, सञ्चार, सूचना प्रवाह, पर्यटन पूर्वाधार र स्थानीय सहभागिता सबैको समान महत्व हुने पनि उनले बताए ।
पर्यटन प्रवर्द्धन अभियानहरूलाई पार्टीले सदैव समर्थन गर्ने बताउँदै शिवाकोटीले सम्बन्धित निकायलाई घचघचाई रहने बताए । 'हाम्रो पार्टीको दर्शन भनेको स्थानीय सशक्तीकरण, सांस्कृतिक सम्मान र समावेशी विकास हो। यही दर्शनअनुसार समग्र दोलखाका पर्यटन सम्भावनाहरू उजागर गर्न, नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयनसम्म पार्टी सधैं सकारात्मक रूपमा उभिन्छ। यो कामको लागि जेन–जी पुस्तालाई समेत लिएर जाने प्रतिबद्धता व्यक्त गर्दछु,' शिवाकोटीले भने ।
जिरीसँगै दोलखाको हरेक कुनाको आवाज उठाउनु पर्ने भन्दै उनले भने 'जहाँ प्रकृति बोल्छ, जहाँ संस्कृति गुञ्जिन्छ, जहाँ साहसिकता जीवनशैली हो।'
उनले यस्तो सिर्जनशील प्रयासले युवा नेतृत्व र स्थानीय पहिचानलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएकोसमेत बताए ।