
नेपाल क्यान मूभ प्राइभेट लिमिटेडले ६८ करोड ४४ लाख ५ हजार ७६० रुपैयाँ राजश्व छली गरेको भन्दै राजश्व अनुसन्धान विभागले आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
नेपाल क्यान मूभ प्रालि र यसका सञ्चालकहरू सुदीप आचार्य, जीवन ज्योति, गंगाबहादुर भण्डारी, मणिरामप्रसाद आचार्य, मधु पौडेल र उप-कार्यकारी निर्देशक संगम पौडेलमाथि राजस्व छलीको मुद्दा दायर गरिएको हो ।
राजश्व अनुसन्धान विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा बिगोको रकम असुल उपर हुन माग गरिएको छ । साथै बिगो बमोजिमको शतप्रतिशत जरिवानासमेत गरी १ अर्ब ३६ करोड ८८ लाख ११ हजार ५ सय २० रूपैयाँ जरिवाना गर्न माग गरिएको छ ।
उक्त प्रालिले आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ को फागुन मसान्तसम्म सेवा बिक्रीको रकम लुकाएर कर छली गरेको भन्दै कैद तथा जरिवानासमेतको माग गरी मुद्दा दायर गरिएको हो ।
उक्त प्रालिले आफ्नो कारोबारको वास्तविक विवरण लुकाएर कर तिर्नुपर्ने रकमलाई न्यून देखाएको थियो।
विभागले दोषीहरूलाई बिगो रकमसहित थप जरिवाना र कानूनी कारबाहीको माग गरेको छ ।
प्रतिवादीहरू मध्ये कम्पनीका उपकार्यकारी निर्देशक संगम पौडेलले मतियारको रूपमा मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुन माग गरिएको छ ।
साथै अपराध पीडित संरक्षण ऐन बमोजिम प्रतिवादीहरूबाट क्षतिपूर्ति शुल्क भराउनसमेत माग गरिएको छ ।