
मोरङको सुन्दरहरैँचा नगरपालिकामा ‘उत्कृष्ट ढुकुर जोडी’ बन्न ४८ जोडीले दिए निवेदन दिएका छन् । पारिवारिक सद्भाव र एकताको जीवन्त उदाहरण खोज्ने उद्देश्य लिएर गत जेठ ७ गते नगरपालिकाले ‘उत्कृष्ट ढुकुर जोडी’को खोजीका लागि आवेदन माग गरेको थियो ।
त्यसपछि ४८ जोडीको निवेदन परेको न्यायिक समितिका उजुरी प्रशासक निरज न्यौपानेले बताए । निवेदन दिनका लागि नगरपालिकाले सर्त नै राखेको थियो । नगरपालिकाले वडामै निवेदन सकिनेगरी सूचना निकालेको थियो ।
‘४८ जोडीको निवेदन परे पनि २७ जोडीको नाम मात्रै वडाले सिफारिस गरेको छ’, उजुरी प्रशासक न्यौपानेले भने, ‘२१ जेडीको कागजात नपुगेका कारण रद्द भएको छ ।’
उनका अनुसार उत्कृष्ट ढुकुर जोडी बन्नका लागि अब २७ जोडीकै घरमा पुगेर नगरपालिकाले उनीहरूको अवस्था बुझ्ने छ । २१ जोडीको भने विवाह दर्ता, बसाइँसराइ लगायतका कागजात नपुगेको नगरपालिकाले जनाएको छ ।
सबैभन्दा बढी १२ नम्बर वडामा निवेदन परेको थियो । उक्त वडामा ११ जोडीले निवेदन दिएका थिए । अन्य वडाबाट भने १ देखि ४ जोडीले निवेदन दिएका थिए । निवेदन दिनेमा २ जना पूर्वप्रधानपञ्चसहित पूर्व शिक्षक, कृषक, मजदुर रहेका छन् । निवेदन दिनेको नाम भने नगरपालिकाले खुलाउन मानेको छैन ।
पछिल्लो समय नगरपालिकाको न्यायिक समितिमा पति–पत्नीबीचको झै–झगडा, लैंगिक हिंसा, गाली बेइज्जती लगायतका मुद्दा बढेपछि यस्ता घटनालाई न्यूनीकरण गर्न उदाहरणीय जोडीलाई सम्मान गर्ने कार्यक्रम ल्याएको थियो ।
नगरपालिकाले ११ वटा सर्तहरू राखेको थियो । जसअनुसार विवाह भएको कम्तीमा १० वर्ष भएको हुनुपर्ने, श्रीमान्–श्रीमती दुवैको नेपाली नागरिकता हुनुपर्ने, विवाह दर्ता गरेको हुनुपर्ने, स्थायी रूपमा सुन्दरहरैँचा नगरपालिकामा बसोबास गरेको हुनुपर्ने लगायतका सर्त थिए ।
यसैगरी, छोराछोरीको जायजन्म भएको भए छोराछोरीको जन्मदर्ता गरेको हुनुपर्ने, नागरिकता बनाउने उमेर पूरा गरेका छोराछोरी भए नागरिकता बनाएको हुनुपर्ने, विद्यालय जाने उमेर पूरा भएका छोराछोरी भए विद्यालयमा भर्ना गरेको हुनुपर्ने, निरन्तर रूपमा संयुक्त परिवारमा (बुवा वा आमा/सासु वा ससुरासँग बसेको हुनुपर्ने, अलग भिन्न नभएको हुनुपर्ने सर्त राखिएको थियो ।
थप सर्तमा बुवाआमा वा सासु ससुरालाई राम्रोसँग हेरचाह, पालनपोषण, माया ममता गरेको हुनुपर्ने, हालका मितिसम्म अदालत, प्रहरी चौकी, न्यायिक समिति, लगायतका निकायमा वा समाजमा श्रीमान्–श्रीमतीको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्ने र निरन्तर नेपालमै बसोबास गरेको हुनुपर्ने ।
विवाह भएको १० वर्षमा वैदेशिक रोजगारमा २ वर्षभन्दा बढी नबसेको हुनुपर्ने सर्त राखिएको थियो ।