२३ असार २०८३, मंगलबार

चार दिने टेस्ट क्रिकेटको अवधारणा ल्याउँदै आईसीसी, प्रत्येक दिन ९८ ओभरको खेल

असार ४, २०८२
काठमाडौं
चार दिने टेस्ट क्रिकेटको अवधारणा ल्याउँदै आईसीसी, प्रत्येक दिन ९८ ओभरको खेल

आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको नयाँ संस्करण मंगलबारदेखि शुरू भएको छ । चौथो संस्करणको पहिलो खेल गालेमा घरेलु टोली श्रीलंका र बंगलादेशबीच शुरू भइसकेको छ । 

टेस्ट च्याम्पियनसिपको चौथो संस्करण शुरू भएसँगै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टेस्ट क्रिकेटसँग जोडिएको एउटा विषय फेरि चर्चामा ल्याएको छ । आईसीसीले चार दिने टेस्टको विषयमा छलफल अघि बढाएको हो ।

यसअघि पनि चार दिने टेस्टको विषयमा चर्चा हुने गरेको थियो । आईसीसीका वर्तमान अध्यक्ष जय शाह पनि यो पक्षमा देखिएका छन् । हाल टेस्ट क्रिकेट पाँच दिनसम्म खेलिन्छ । आईसीसीले त्यसमा एक दिन घटाउने तयारी अगाडि बढाएको समाचारमा जनाइएको छ । 

विश्व टेस्ट च्याम्पियनसिपको २०२५–२७ सत्रमा भने पाँच दिवसीय टेस्ट नै खेलाइने छ । यो सत्रमा नौवटा राष्ट्रले कूल २७ शृंखला खेल्नेछन् । त्यसमध्ये १७ शृंखलामा दुइटा टेस्टमात्र खेलिने छ । ६ वटा शृंखलामा भने सहभागी टोलीले तीन–तीनवटा टेस्ट खेल्नेछन् । 

आईसीसीले भारत, अस्ट्रेलिया र इङ्ल्यान्डलाई छाडेर अन्य राष्ट्रका लागि चार दिवसिय टेस्टको अवधारणा अगाडि सारेको हो । इङ्ल्यान्ड, अस्ट्रेलिया र भारतीय टोलीले भने पाँच दिवसीय टेस्ट नै खेल्नेछन् । 

यी तीन टोलीबीच टेस्ट च्याम्पियनसिपमा आपसमा पाँच–पाँच खेलको शृंखला खेलिने छ । यसअघि सन् २०१७ मा आईसीसीले चार दिवसीय टेस्टको अवधारणा अघि सारेको थियो । सोही अनुरूप इङ्ल्यान्डले त जिम्बाबेसँग चारदिवसीय टेस्ट खेलेको पनि थियो । 

इङ्ल्यान्डले सन् २०१९ र सन् २०२३ आयरल्यान्डसँग पनि चार दिने टेस्ट खेलेको थियो । अहिले आएर विश्व टेस्ट च्याम्पियनसिपको आगामी संस्करणमा पनि यो नियम लागू गर्ने तयारी अगाडि बढाइएको समाचारमा जनाइएको छ । 

चार दिवसीय टेस्टले विश्व क्रिकेटमा उदाउँदै गरेका राष्ट्रलाई फाइदा पुग्ने आईसीसीको विश्वास छ । अहिलेको स्थितिमा कतिपय राष्ट्र लामो ढाँचाको प्रतियोगिता आयोजना गर्न चाहँदैनन् । पाँच दिने टेस्टमा समय र पैसा दुवै बढी खर्च हुन्छ । तर, चार दिने टेस्टको अवधारणा लागू भएपछि तीन टेस्टको शृंखला केवल तीन सातामा समाप्त हुन्छ ।

यस्तो स्थितिमा विश्व क्रिकेटमा अगाडि आउँदै गरेका राष्ट्रहरु पनि टेस्ट शृंखला आयोजना गर्न इच्छुक बन्नेछन् । आईसीसीले चार दिवसिय टेस्टको अवधारणा लागू भएपछि प्रत्येक दिन ९८ ओभरको खेल खेलाउने प्रस्ताव अघि सारेको छ । पाँच दिने टेस्टमा प्रत्येक दिन ९० ओभरको खेल हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्