
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वास्ता गर्न नचाहेको, तर बेवास्ता गर्न पनि नमिल्ने पात्र बनेकी छिन् । ७ वर्ष राष्ट्रपति भएपछि फेरि एमालेको सक्रिय राजनीति गर्ने गरी भण्डारी ‘वार्मअम’मा छिन् । त्यसैले ओलीका निम्ति भण्डारी वास्ता गर्न नचाहेको, तर बेवास्तामा राख्न नमिल्ने पात्र बनेकी हुन् ।
भण्डारीलाई एमालेमा सक्रिय गराउन खोज्नेहरू क्रियाशील हुन थालेदेखि नै ओली असन्तुष्ट थिए । त्यसैले २०८० साउन २८ गते ओलीले सचिवालय बैठकमै भण्डारीप्रति आक्रोश पोखेका थिए । ‘राष्ट्रपति भइसकेपछि उहाँ राष्ट्रिय सम्मानसाथ बस्नुपर्छ । फेरि एमालेको राजनीतिमा आउनु राम्रो होइन,’ ओलीले भनेका थिए, ‘अरू कसैले पनि त्यस्तो चाहना राखेर उहाँलाई पार्टीमा सक्रिय गराउँछौं भन्नु सही होइन ।’
आवश्यकता परे आफूहरूले नै भण्डारीलाई राजनीतिमा ल्याउने उनले बताएका थिए ।
सक्रिय राजनीतिमा हुँदा भण्डारी ओली खेमाकै हुन् । राष्ट्रपति पनि ओलीले नै बनाएका हुन् । तर, लगातार नेतृत्व गरेका ओलीको उमेर पनि भएको र आफ्नो समेत अनुकूलता बढेको ठानेर भण्डारी सक्रिय राजनीतिको ‘वार्मअप’मा लागेकी हुन् ।
ओलीको यस्तो अभिव्यक्तिपछि पनि भण्डारीले एमालेमा सक्रिय हुने चाहना मारेकी छैनन् । मदन भण्डारीको विरासत, एमालेका सक्रिय राजनीतिको अनुभव, ७ वर्ष राष्ट्रपति बन्दा बुझेको शक्तिको गहिराइले उनलाई सक्रिय राजनीतिमा लाग्न प्रेरित गरेको देखिन्छ ।
उमेर ६३ वर्ष मात्रै भएकाले आफूसँग अझै राजनीति गर्ने समय रहेको उनको बुझाइ छ । सोहीकारण उनी एमालेको राजनीतिमा छिर्ने अनुकूल समयको पर्खाइमा छिन् ।
भण्डारीप्रति आक्रोश पोखे पनि ओलीले उनलाई बेवास्ता गरेका छैनन् । कहिल्यै आफैं गएर त कहिले बोलाएर भण्डारीसँग भेटवार्ता गर्दै आएका छन् ।
यसै शिलशिलामा ओलीले मंगलबार साँझ भण्डारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा डेढ घण्टा छलफल गरे ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार सो भेटमा समसामयिक र एमालेको आन्तरिक राजनीतिका विषयमा कुराकानी भएको थियो । कार्यकर्ताहरू ध्रुवीकृत हुन लागेको बेला भएको यो छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
तिक्तता मात्र होइन, सुमधुर सम्बन्ध पनि !
दोस्रो/तेस्रो तहका नेताले आफूअनुकूल परिस्थिति बनाउन ओली र विद्याको नाममा गुटको राजनीति गरे पनि विगतमा ओली र भण्डारीको समझदारी उच्चस्तरकै थियो ।
दुवैमा ‘राजनीतिक कल्चर’ र एक अर्कालाई सम्मान गर्ने संस्कार छ ।
२०८० माघ १६ गते काठमाडौंमा आयोजित कार्यक्रममा भण्डारीले ओलीलाई समकालीन राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता र प्रेरणाको स्रोतको भनेर प्रशंसा गरेकी थिइन् ।
‘केपी शर्मा ओलीज्यू समकालीन नेतामा पृथक पहिचान बनाउनुभएको नेता हुनुहुन्छ । सर्वाधिक प्रतिभाशाली नेताको रूपमा उच्च स्थान प्राप्त गर्न सफल एमालेको अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्ति हुनुहुन्छ,’ ओलीका सम्बोधन समेटेर प्रकाशित भएको पुस्तक ‘संसदमा केपी शर्मा ओली’को विमोचन गर्दै भण्डारीले भनेकी थिइन्’ ‘राजनीतिका साथै कला साहित्य, धर्म गहन ज्ञान भएको नेता हुनुहुन्छ । सघन अध्ययन र लामो संघर्षले खारिनुभएका नेता हामी सबैका प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ ।’
नेकपा स्थापनाको ७५ औं वर्षको अवसरमा भण्डारीलाई २०८१ वैशाख १० गते गणतन्त्र गौरव सम्मान प्रदान गरिएको थियो । प्रथम महिला राष्ट्रपतिको रूपमा भण्डारीले निभाएको भूमिका नेपाल राष्ट्र र महिलाहरूका लागि गर्वको विषय भएको ओलीले बताएका थिए ।
‘महिला दिदीबहिनीहरूले गौरव गर्नुपर्दछ कि विद्या भण्डारीजस्तो आन्दोलनबाट हुर्किएर गएको महिला नेत्रीले देशलाई ७ वर्षसम्म राष्ट्र प्रमुखको हैसियतमा नेतृत्व गर्नुभयो । यो हामी नेपालीहरूका लागि गौरवको विषय हो,’ ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा २०७९ फागुन २४ गते पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले भनेका थिए ।

फेरिएको परिस्थिति
केही दिनअगाडि विराटनगर पुगेर भण्डारीले देश घुम्न र कार्यकर्ता भेट्न एमालेको अनुमति लिनुनपर्ने भनेर पार्टी नेतृत्वमाथि निशाना साँधेकी थिइन् ।
‘म राष्ट्रपति भइसकेको छु, पार्टीगत हिसाबले भन्ने हो भने पनि मैले संगठित सदस्यता लिनुभन्दा अगाडिदेखि नै पार्टीमा काम गरेको हुँ । चिनजान ठूलै छ । समाजका अरू क्षेत्रहरूमा पनि चिनजान हुन्छ,’ भण्डारीले भनेकी थिइन्, ‘बाँचुञ्जेल हामीले संघर्ष गर्नुपर्छ नयाँ पुस्ताका लागि र देशका लागि । त्यस हिसाबले देशभित्र घुमफिर गर्न नेकपा एमालेका कमिटीहरू र नेताहरूसँग मैले अनुमति लिइरहनु पर्दैन ।’
यी दुईबीच सम्बन्ध चिसिएको दाबी गरिएका बेला भण्डारी ओलीलाई भेट्न मंगलबार बालुवाटार पुगेकी हुन् । २७ जेठमा विराटनगरमा सञ्चारकर्मीसँग लामै संवाद गरेको एक हप्ता नहुँदै ओलीले भण्डारीसँग डेढघण्टा छलफल गरेका हुन् ।
भण्डारीका स्वकीय सचिव राजकुमार राईले अवसर लिनका लागि भन्दा पनि आफ्नो आवश्यकता महसुस भए भण्डारी सक्रिय राजनीतिमा आउने बताउँछन् ।
‘अवसर लिन्छु भनेर उहाँ लाग्नुभएको होइन । काम गर्दै जाँदा देश र जनताको हितमा काम गर्नुपर्यो वा पार्टीले आवश्यकता महसुस गरेर जिम्मेवारी दियो भने पूरा गर्नुहुन्छ,’ राईले भने, ‘पार्टीले खोज्छ भने उमेर, अनुभव, विरासतसहित एउटा असल नागरिकको हिसाबले भूमिका निर्वाह गर्न पछाडि हट्दिन भन्नेमा उहाँ हुनुहुन्छ ।’
पछिल्लो समय भइरहेको देशदौडाहा र छिमेकी देश चीनको भ्रमण स्वाभाविक भएको राई बताउँछन् । ‘बोलाएको ठाउँमा जानुहुन्छ । पूर्व राष्ट्रप्रमुखको हिसाबले बोलाउँदा इन्कार गर्ने कुरा पनि भएन । अर्कातिर, उहाँ एमालेको पूर्व उपाध्यक्ष पनि हो,’ राईले भने, ‘पूर्व राष्ट्रपति सामाजिक व्यक्तित्व हो, त्यसैले घरमा मात्रै बस्ने होइन, बोलाएका ठाउँमा जाने र सहभागिता जनाउनुपर्ने हुन्छ । सांस्कृतिक कार्यक्रममा बोलाएको ठाउँमा जानुहुन्छ । सामाजिक काममा जोडिनुहुन्छ ।’
राजनीतिक व्यक्ति भएकाले मंगलबारको भेटमा समसामयिक राजनीति र एमालेको आन्तरिक विषयमा कुराकानी हुनु स्वाभाविक भएको राई बताउँछन् ।
यसअघि २०८१ पुस १८ गते ओली भण्डारीलाई भेट्न बूढानीलकण्ठस्थित उनको निवासमै पुगेका थिए । उनीहरूबीच आन्तरिक र राष्ट्रिय राजनीतिबारे २ घण्टा छलफल भएको थियो । भण्डारी एमालेको पार्टी सदस्यता नवीकरण गरेर बसेकी छिन् ।
गत माघमा भण्डारी विराटनगर पुग्दा राजनीतिमा फर्किने विषयलाई नकारेकी थिइनन् । राजनीति नै गर्दा एमालेमै सक्रिय हुने भनेर सक्रिय हुने बताएकी थिइन् ।
‘दलीय राजनीतिमा लागेर अब पद र जिम्मेवारी लिने कि नलिने भन्नेमा अहिले नै म प्रवेश गरिसकेको छैन । भोलि कुन दलमा काम गर्ने भन्ने पनि कुरा आउँछ होला,’ भण्डारीले प्रस्ट पार्दै भनेकी थिइन्, ‘म नेकपा एमालेमै जन्मेर, हुर्केर यो ठाउँमा आएको हुनाले पार्टीमा जाँदाखेरि त्यहीँ नै जाने कुरा आउँछ । तर, त्योचाहिँ छलफलको चरणमा प्रवेश गरेको छैन ।’
एमालेको राजनीतिमा फर्किनका लागि उपयुक्त समयको पखाईमा भण्डारी देखिन्छिन् । यसैले उनले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको राजनीतिमा फर्किन लागेकोमा समेत खुशी व्यक्त गरेकी थिइन् ।
‘म राष्ट्रपति, उहाँ उपराष्ट्रपति भएर ७ वर्ष सहकार्य गरेका हौं । उहाँ राजनीति गरेरै आउनुभएको हो,’ पासाङ माओवादीमा सक्रिय हुने गरी कार्यक्रममा देखिन थालेकोमा भण्डारीले भनेकी थिइन्, ‘उहाँ युवा हुनुहुन्छ । अनुभव पनि छ । त्यसैले उहाँ राजनीतिमा आएकोमा खुशी नै लागेको छ । उहाँलाई मेरो शुभेच्छा छ ।’
एमालेभित्र ठूलो पंक्तिले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन खोजेको छ । केही प्रभावशाली नेताको चाहना समेत मिसिएपछि भण्डारीले पनि आफ्नो लागि स्थिति अनुकुल बनेको भन्ने ठानेको नेताहरू बताउँछन् ।
। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समेत भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने पक्षमा रहेको दाबी नेताहरू गर्छन् । कतिपय घटनाक्रमले यी दुईबीचको निकटतालाई अर्थ्याउँछन् ।
ओलीले भण्डारीलाई भेटेको भोलिपल्टै पोखरेलको किताब विमोचन भएको थियो । पुस १९ गते पोखरेलको ‘आमा, सपना र ताराहरू’ पुस्तक विमोचन प्रमुख अतिथ्यता भण्डारीले गरेकी थिइन् । यतिमात्रै होइन, पछिल्लो समय पोखरेल नै एमालेमा ७० वर्षे उमेरहदको पक्षमा उभिएका छन् । सार्वजनिक कार्यक्रममा उनले केही दिन अगाडि उमेरहद कायम गर्नुपर्ने बताएका थिए ।
७३ वर्षीय ओली एकपटक फेरि अध्यक्ष बन्ने चाहनामा छन् । ७० वर्षे उमेरहद कायम गरे ओलीसहितका सिनियर नेता नेतृत्वको होडबाट स्वतः बाहिरिनेछन् । रणनीतिक रूपमा भण्डारीका लागि उमेरहदको विषय उठाइएको प्रति ओलीसमेत सचेत छन् । यसैले पनि विधान महाधिवेशन भदौमा नगर्ने, गर्नैपरे उमेरहदको विषयमा चर्चा नै नगर्ने पक्षमा ओली रहेको निकटस्थहरू बताउँछन् ।
एमालेको एउटा तप्का आगामी महाधिवेशनबाटै भण्डारीलाई अध्यक्ष बनाउन सकिन्छ भनेर लागेको छ । पृथ्वीसुब्बा गुरुङ, गोकुल बाँस्कोटा, कर्णबहादुर थापा, आनन्द पोखरेल, खगराज अधिकारी, कृष्ण राई, शेरधन राई, डोरमणि पौडेलसहितका थुप्रै नेता भण्डारीलाई एमालेको राजनीतिमा छिट्टै सक्रिय गराउनुपर्ने मतमा रहेको दाबी कतिपयको छ ।
पछिल्लो समय भण्डारीलाई भेट्न एमाले नेता/कार्यकर्ताको लर्को नै लाग्ने गरेको स्रोत बताउँछ ।
‘सबै हिसाबले राम्रो प्रोफाइल बनेर हो कि के हो, एमालेका प्रभावशाली नेताहरू भण्डारीलाई भेट्न नपुगेको दिन नै हुँदैन । बाक्लो संख्यामा नेता/कार्यकर्ता निवासमा पुग्नुहुन्छ,’ स्रोतले भन्यो, ‘उहाँले कोशी, कर्णालीतिर पुग्दा पनि व्यवसायी, प्राध्यापक, शिक्षक, विद्यार्थी सबैसँग भेट्नुभएको थियो । निवासमा पनि विभिन्न पेशा–व्यवसायका मानिसहरू भेट्न आउनुहुन्छ ।’
अघिल्लो वर्ष मदन भण्डारीको ७२ औं जन्मजयन्तीका अवसरमा गत असार १४ गते ओली होइन, पूर्व राष्ट्रपति भण्डारी मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा प्रमुख अतिथि बनेकी थिइन् । विशेष अतिथिका रूपमा बोलाइए पनि ओली कार्यक्रममा सहभागी भएका थिए ।
भण्डारीलाई एमालेमा सक्रिय गराउन अग्रसर एमालेका एक नेता भण्डारीलाई राजनीतिमा ल्याउन उचित समयको पर्खाइ रहेको बताउँछन् । ‘हरेक चिजको समय हुन्छ, समयमा जवाफ आउँछ । भण्डारी एमालेमा कहिले सक्रिय हुनुहुन्छ भन्ने विषय पनि समयकै गर्भमा छ,’ ती नेता भन्छन्, ‘हामी निश्चित समयमा एउटा वेभ क्रिएट गर्छौं ।’
तर, विद्यालाई राजनीतिमा ल्याउन चाहने दोस्रो र तेस्रो पुस्ताका नेताहरू जति उचालिए पनि ओलीको सद्भावविना उनको पुनरागमन सहज देखिँदैन । मंगलबारको छलफलले यो समग्र विषयलाई कुन मोड दिने हो, त्यो भावी दिनहरूले नै देखाउने छ ।
पढ्नुहोस्, यो पनि :