
बाराको कलैया उपमहानगरपालिका-१४ बघवन बस्ने ५० वर्षीय नन्दु राउत कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-१४ बघवन टोल बस्ने ४० वर्षीय उमेश जैसवालकी श्रीमती ३८ वर्षीया रन्जु जैसवाल तथा उनकै छोराहरू २० वर्षीय सुमित जैसवाल र १८ वर्षीय किशोर रहेका छन् ।
पुरानो रिसइबीको कारण उमेशसमेत ६ जना व्यक्तिहरूले गत जेठ २९ गते साँझ कुटपिट गर्दा गम्भीर घाइते भएका नन्दुको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँ बस्ने २८ वर्षीय दिगम्बर साह कलवारलाई सोही दिन पक्राउ गरेको थियो । साथै घटनामा संलग्न रही फरार रहेका रन्जुलाई कलैया उपमहानगरपालिका-५ बाट तथा सुमित र १८ वर्षीय किशोरलाई पर्सा वीरगञ्ज महानगरपालिका-१ शान्ति टोलबाट बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूउपर ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।