
इरानको सरकारी टेलिभिजनले आफ्ना दर्शकहरूलाई एक भिडियो क्लिपबारे सचेत रहन आग्रह गरेको छ, जसमा सरकारले जनताको अपेक्षा पुरा नगरेको भन्दै सरकारविरुद्ध उठ्न अपिल गरिएको छ।
सरकारी टेलिभिजनका अनुसार, उक्त सन्देशहरू स्याटेलाइट सिग्नलमा इजरायलले ह्याकिङ गरेको' कारण देखिएको हुनसक्ने जनाइएको छ। टेलिभिजन हेर्दा अनौठा सन्देश देखा परेमा सतर्क रहन भनिएको छ।
उक्त चेतावनी दिइएको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा पनि तीव्र रूपमा भाइरल भइरहेको छ। भिडियोमा जनतालाई 'आफ्नो भविष्यका लागि कदम चाल्न' आह्वान गरिएको छ।
भिडियोमा देखिएको चिन्ह र समावेश दृश्यहरूले यो 'ह्याक गरिएको सामग्री' भएको अनुमान गरिएको छ। यसमा ती वरिष्ठ इरानी कमाण्डरहरूको तस्वीर पनि देखाइएको छ, जो १३ जूनमा इजरायलको 'अपरेशन राइजिङ लायन' का क्रममा मारिएका थिए।
यस भिडियोमा सन् २०२२ मा एक युवतीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएका विरोध प्रदर्शनका दृष्यहरू पनि देखाइएको छ — जहाँ धेरै महिलाहरूले हिजाब त्यागेर सडकमा विरोध जनाएका थिए।
हालसम्म उक्त भिडियो कहाँबाट र कसले प्रसारण गरेको भन्ने आधिकारिक पुष्टि भइसकेको छैन।