
विश्वकै सर्वाधिक लोकप्रिय खेलमध्ये क्रिकेट पनि एक हो । विश्वभर क्रिकेटका करोडौं समर्थक छन् । अझ दक्षिण एसियाली क्षेत्रमा त क्रिकेट झनै लोकप्रिय छ ।
दक्षिण एसियामा मात्र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट टेस्ट मान्यता पाएका चारवटा राष्ट्र छन् । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश टेस्ट मान्यताप्राप्त राष्ट्र हुन् ।
हरेक राष्ट्रमा क्रिकेट गतिविधि सञ्चालनका लागि राष्ट्रिय क्रिकेट संघ रहेका हुन्छन् । आईसीसीबाट प्राप्त हुने अनुदान, सरकारी सहयोग, विभिन्न प्रतियोगिताका क्रममा टिकट बिक्रीबाट प्राप्त हुने रकम र प्रायोजकहरूबाट प्राप्त हुने रकम राष्ट्रिय क्रिकेट संघको आम्दानीका स्रोत हुन् ।
यसदेखिबाहेक प्रशारण अधिकारजस्ता अन्य केही स्रोतबाट पनि क्रिकेट संघले गतिलो आम्दानी गरिरहेका हुन्छन् । आखिर कुन हो त विश्वकै सबैभन्दा धनी क्रिकेट संघ ? पछिल्लो तथ्यांक अनुसार, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) विश्वको सबैभन्दा धनी क्रिकेट संघ हो ।
बीसीसीआईको सम्पत्ति करिब २२ अर्ब अमेरिकी डलर रहेको समाचारमा जनाइएको छ । दोस्रो स्थानमा अस्ट्रेलियाको क्रिकेट बोर्ड रहेको छ । क्रिकेट अस्ट्रेलियाको कूल सम्पत्ति सात करोड ९० लाख अमेरिकी डलर रहेको छ ।
सबैभन्दा धनी क्रिकेट बोर्डको सूचीको तेस्रो स्थानमा इङ्ग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड रहेको छ । इङ्ग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको सम्पत्ति पाँच करोड ९२ लाख अमेरिकी डलर रहेको समाचारमा जनाइएको छ ।
यसैगरी, चौंथो स्थानमा पाकिस्तान क्रिकेट बोर्ड रहेको छ । पाकिस्तान क्रिकेट बोर्डको सम्पत्ति पाँच करोड ५० लाख अमेरिकी डलर रहेको छ । पाँचौं स्थानमा रहेको बंगलादेश क्रिकेट बोर्डको सम्पत्ति चार करोड २५ लाख अमेरिकी डलर छ ।
यसैगरी, छैटौं स्थानमा रहेको दक्षिण अफ्रिका क्रिकेट बोर्डको सम्पत्ति तीन करोड ९२ लाख अमेरिकी डलर रहेको छ । सातौं स्थानमा जिम्बाबे क्रिकेट बोर्ड छ । जिम्बाबे क्रिकेट बोर्डको सम्पत्ति तीन करोड १७ लाख अमेरिकी डलर छ ।
यसैगरी, सबैभन्दा धनी क्रिकेट बोर्डको सूचीको आठौं स्थानमा श्रीलंका क्रिकेट बोर्ड छ । श्रीलंका क्रिकेट बोर्डको सम्पत्ति एक करोड ६६ लाख अमेरिकी डलर छ ।
यो सूचीमा नवौं स्थानमा आसिन वेस्ट इन्डिज क्रिकेट बोर्डको सम्पत्ति एक करोड २५ लाख अमेरिकी डलर र १० औं स्थानमा आसिन न्युजिल्यान्ड क्रिकेट बोर्डको सम्पत्ति ९० लाख अमेरिकी डलर रहेको छ ।