
इरानका विदेशमन्त्री सैयद अब्बास अराघ्चीले इजरायलको सोरोका अस्पताल नजिकै रहेको सैनिक तथा गुप्तचर केन्द्रलाई लक्षित गरी गरिएको क्षेप्यास्त्र आक्रमणको बचाउ गरेका छन् ।
उनले उक्त आक्रमणले स्वास्थ्य संस्थाको एक सानो भागमा ‘सतही क्षति’ मात्रै पुर्याएको दाबी गरेका छन् ।
अराघ्चीका अनुसार, सो केन्द्रलाई धेरै अंशमा खाली गराइएको थियो । मुख्यतया गाजाको युद्धमा सहभागी इजरायली सैनिकहरूको उपचारका लागि प्रयोग गरिँदै आएको थियो ।
‘हाम्रा शक्तिशाली सशस्त्र बलहरूले हाम्रो जनतालाई लक्षित गर्ने अपराधीहरूमाथि निरन्तर प्रहार गर्नेछन्, जबसम्म तिनीहरूले आक्रमण रोक्दैनन् र हाम्रो राष्ट्रमाथिको आपराधिक आक्रोशको मूल्य तिर्दैनन्’, अराघ्चीले सामाजिक सञ्जाल एक्समा भनेका छन् । उनले इजरायलमाथि कडा प्रहार गर्ने चेतावनी दिँदै नागरिकहरूलाई सैनिक स्थलहरूबाट टाढा रहन आग्रह पनि परेका छन् ।
यसअघि, सोरोका अस्पतालका निर्देशक श्लोमी कोदेशले इरानी क्षेप्यास्त्र आक्रमणले अस्पतालको पुरानो शल्यकक्ष विभागमा ठूलो क्षति पुर्याएको दाबी गरेका थिए ।