२३ असार २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

आलमको फैसला गर्ने न्यायाधीश तानिए, निर्णयबाट ब्याक भए बालेन

असार ६, २०८२
काठमाडौं
आलमको फैसला गर्ने न्यायाधीश तानिए, निर्णयबाट ब्याक भए बालेन

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले चार वडाध्यक्षलाई पुरानै जिम्मेवारी दिएका छन् । 

मेयर शाहले वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरलाई क्रमशः  सम्पदा तथा पर्यटन समिति, विधायन समिति, सुशासन समिति र सूचना तथा प्रविधि समितिको जिम्मेवारीमा फर्काएका हुन् ।

उनले यसअघि चारै जनालाई समितिको जिम्मेवारीबाट हटाएका थिए । मेयर शाहले आफूहरूलाई हटाएको भन्दै वडाध्यक्षहरू विरोधमा उत्रिएका थिए ।
००००
समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश हाललाई स्थगन भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
००००
नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा नयाँ भर्नाका लागि माग गरिएको पद संख्या वृद्धि गरेको छ ।

पहिले माग गरिएको १,१६५ पदमा थप ६७७ पद थपिएसँगै अब कुल १,८४२ जनालाई प्रहरी जवान बन्ने अवसर प्राप्त हुने प्रहरीले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ।
००००
स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० आई शृङ्खलामा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । स्कटल्याण्डको ग्लासगोमा गएराति सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो । 

जितसँगै तीन खेलमा चार अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लेको छ । नेदरल्याण्डसको पनि समान अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा उक्लेको हो ।
००००
बुटवल–नारायणगढ सडक खण्डस्थित नवलपरासी पूर्वको विनयी खोलाले बिहीबार राति यात्रुबाहक बस बगाएको छ । 

३८ यात्रु लिएर काठमाडौंबाट बर्दिया आउँदै गरेको भे १ ख ४०८५  नम्बरको बस खोलाको बाढीले डाइर्भसनसँगै बगाएको  हो । 
००००
जिल्ला अदालत काठमाडौँले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउने भनी परेको रिट निवेदन खारेज गरेको छ । 

अदालतका न्यायाधीश श्यामविहारी मौर्यको एकल इजलासले बिहीबार धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पेस गरेको रिट निवेदन खारेज गरेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । ‘नेपाल खबर डटकम’ र ‘बिजमाण्डु डटकम’मा प्रकाशित समाचार हटाउन माग गर्दै अदालतमा रिट दायर गरिएको थियो ।
००००
ललितपुरको ग्वार्को चोकमा ओभरपासको काम सम्पन्न भएको छ । यो ओभरपासको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
००००
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित चार जनालाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीशलाई त्यहाँबाट झिकाउन न्याय परिषद्ले सिफारिस गरेको छ । 

बुधबार बसेको न्याय परिषद्को बैठकले न्यायाधीशद्वय डा खुसी प्रसाद थारू र अर्जुन महर्जनलाई झिकाउन लागि सर्वोच्च अदालतलाई सिफारिस गरेको परिषद् स्रोतले जानकारी दियो । 
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही असार ७ गते तेस्रो स्थापना दिवस मनाउने भएको छ ।

रास्वपाको सचिवालय बैठकले ‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवद्र्धनका लागि सडक र संसद्मा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गर्दै तेस्रो स्थापना दिवस मनाउने निर्णय गरेको हो ।   

बुधबार बसेको पार्टीको सचिवालयको बैठकले स्थापना दिवसका दिन बिहान पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्नेलगायत विभिन्न नौ बुँदे निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्