
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ ।
भिजिट भिसा दुरुपयोग प्रकरणमा छानबिनको माग गर्दै आएको रास्वपाले यस अघि वेल घेराउ गर्दै आएको थियो । तर संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम स्थगित भएपछि रास्वपाले बैठक बहिष्कार गरेको छ ।
रास्वपाको विरोधका कारण सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित गरेका थिए । प्रधानमन्त्रीलाई आफ्नो कुरा सुनाउन नपाएपछि बैठक बहिष्कार गरिएको जिकिर रास्वपा सांसदको छ ।
‘हामी प्रधानमन्त्रीज्यूलाई केही कुरा सुनाउन चाहन्थ्यौं तर उहाँले त्यो कुरा सुन्न चाहनुभएन। बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो,’ रास्वपाले भनेको छ, ‘तसर्थ हामीले, आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौं।’
शुक्रबारको बैठकमा रास्वपा सांसदहरू नीलो रिबन र कालो पोसाकमा संसद पुगेका थिए ।
रास्वपाले बहिष्कार गरे पनि प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी छ ।