
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई पक्राउ गरेको छ ।
विभिन्न योजनाको स्वीकृति एवं कर्मचारी नियुक्तिलगायतका विषयमा अनियमितता गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
उनका अनुसार पोखरीया नगरपालिकामा कार्यरत कर्मचारीहरूले विभिन्न योजनाको स्वीकृति एवं कर्मचारी नियुक्तिलगायतका विषयमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका सिलसिलामा आयोगको टंगालबाट खटिएको टोलीले पोखरीया नगरपालिका, पर्सा (हाल बहुदरमाई नगरपालिका, पर्सा)का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।
विरगञ्ज महानगरपालिका वडा नम्बर १२ प्रतिमा चोक र वडा नम्बर ३ प्रगतिनगरबाट पक्राउ परेका उनीहरूको साथबाट आयोगको टोलीले ४ थान मोबाइल पनि बरामद गरेको छ ।
यस्तै पोखरीया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनयकुमार सिंह र वडा नम्बर २ का सचिव ओमप्रकाश चौरसियाको साथबाट २ थान मोबाइल बरामद भएको छ ।
थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।