
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख ३ दलका शीर्ष नेताहरूसँग टीआरसीका विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार बसेको शीर्ष नेताको बैठकमा टीआरीको विषयमा छलफल भएको प्रधानमन्त्रीका कानूनी सल्लाहकार अग्नि खरेलले जानकारी दिए ।
‘टीआरसी के भइरहेको छ जानकारी दिइएको हो । यसमा अफिस, सेटअफसहितका विषयमा भएको प्रगतिबारे जानकारी गराइएको हो,’ खरेलले लोकान्तरसँग भने, ‘द्वन्द्वकालका पीडितको सबै सरकारी अस्पतालमा उपचार गर्ने र त्यसका लागि त्यस अनुसारको कार्ययोजना स्वास्थ्य मन्त्रालयले बनाउने विषयमा छलफल भएको छ ।’
बैठकमा संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउने सरकारले दिएको एक अर्ब कोषमा राख्ने बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, माओवादीबाट अध्यक्ष प्रचण्ड, उपमहासचिव वर्षमान पुनसहितका नेता सहभागी थिए ।
शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग (टीआरसी) गठन भए पनि प्रभावकारी काम अगाडि बढेको छैन ।
पदाधिकारी र केही कर्मचारी चयन गरे पनि यसले अझै काम अगाडि बढाएको छैन ।