२३ असार २०८३, मंगलबार
संस्मरण

सरी अक्कलबहादुर !

असार ७, २०८२
काठमाडौं
सरी अक्कलबहादुर !

...त्यसपछि अक्कलबहादुर कहिल्यै स्कूल आएन ।

आओस् पनि कसरी ?

मनमा दिनदिनै अग्लिरहेको अपमान र हीनताबोधको पहाडलाई उसले ढाल्नै सकेन । ऊ एक्लैले ढाल्न कहाँ सक्थ्यो र ! झन् अग्लो पो हुँदै थियो । शताब्दीऔंदेखि समाजले निर्माण गरेको जात र वर्ग व्यवस्थाको गहिरो खाडलमा पुरिएको थियो स्वाभिमान । उसका सपनाका खुट्टाहरूमा नेल लगाइदिएको थियो समाजले– ऊ नजन्मिँदै । पखेटा काटिदिएको थियो– रहरहरूका । आँखा फुटाइदिएको थियो– सपनाहरुका । 

मन त उसलाई पनि हुँदो हो आफ्नै सपनाको आकाशमा निस्फिक्री उड्न । ​भुरूरू । भुरूरू ।

तर, ऊ कथित दलित भएर जन्मिनु नै उसका लागि अभिशाप बन्यो । आफ्ना वात्सल्य रहरलाई त्यागेर ऊ हिँड्यो ।

तर, यसमा उसको के गल्ती ?

उसका रहरहरूको घाँटी हामीले नै निमोठेका थियौं। उसलाई पनि रहर हुँदो हो गाता हालेका किताब बोकेर हामीजस्तै स्कूल पुग्न । उसलाई पनि रहर हुँदो हो हामीसँगै मोजाको भकुण्डो खेल्न । 

र, उसलाई पनि रहर हुँदो हो हामीजस्तै– कालोपाटीमा चकले आफ्नो नाम लेख्न । उसलाई पनि रहर हुँदो हो, शिक्षक/शिक्षिकाले कक्षामा हाजिर गर्दा ठूलो स्वरमा ‘एस सर’ भन्न । ‘एस म्याम’ भन्न । 

तर, उसले कहिल्यै छाती फुलाएर, धक फुकाएर भन्न पाएन । उसको स्वरै ठूलो भएर मात्र ठूलो सुनिएको हो ।

उसलाई पनि रहर हुँदो हो, कक्षाको अघिल्लो बेञ्चमा बस्न । उसलाई पनि मन हुँदो हो, अघिल्लो बेञ्चमा बसेर कक्षा कोठाको ढोकाबाट बाहिर चौरको संसार नियाल्न- हामीजस्तै । 

यी तमाम रहरलाई बोकेर फेरि त्यसपछि ऊ कहिल्यै स्कूल आएन ।

आखिर किन ?

एक कक्षा पढ्दा ऊसँगको कुरा सम्झना छैन । हुन त म ६ वर्षको उमेरमा स्कूल भर्ना भएको हुँ । यद्यपि, एक कक्षाका धेरै कुरा यादै छैन । रोल नम्बर ३२ भए बाहेक । 

दुई कक्षादेखिका धेरैजसो सम्झनाका पुराना अल्बमहरू भने ताजै छन् । दुई कक्षामा मेरो रोल नम्बर ६ थियो । 

अनि, अक्कलबहादुर नेपालीको ? 

सरी, यादै भएन ।

कहाँ उसको रोल नम्बर याद हुनु । याद छ त केवल उसका ठूला आँखाहरू । ठूलो नाक । ठूलो अनुहार । ओजिलो स्वर । र, उसलाई हामीले गरेका कर्तुतहरू ।

०००

मेरो घर दुई ठाउँमा थियो । साविक पुन्मा गाउँ विकास समितिको वडा नम्बर ३ छिप्रेना र वडा नम्बर ४ ईबरमा । हामी वर्षमा आधा/आधा समय यी गाउँमा बस्थ्यौं । तर, मेरो प्राथमिक तहको शिक्षा ईबरमा रहेको ज्ञानोदय प्राथमिक विद्यालयमै भयो । 

र, दुवै गाउँमा घर हुनुको फाइदा मैले दुवै गाउँका साथी बनाउन पाएँ । 

स्कूलमा मोजाको भकुण्डो खेल्दा कहिलेकाहीँ दुई गाउँका साथीहरूबीच झगडा पर्थ्यो । म भने तटस्थ बस्थेँ । साथीहरूले मलाई विवादमा तान्न नखोजेका त कहाँ हुन् र ! तर, म तटस्थ नै बसेँ ।

यद्यपि, भकुण्डो खेल्ने बेला धेरैपटक झेली गरेको छु । माथिल्लो गाउँको तर्फबाट खेल्दा धेरैपटक भकुण्डो छोडेर अक्कलबहादुरका खुट्टामा हिर्काएको छु । ऊ हामीभन्दा ठूलो थियो । उमेर पनि दुई/तीन वर्ष जेठै हुँदो हो । ज्यान पनि हाम्रो भन्दा बलिष्ठ । एक्लै भेट्दा हामीलाई ‘कुट्थ्यो’ पनि । तर, कहिल्यै बेस्सरी चोट लाग्नेगरी कुटेन । जब उसले कुट्न खोज्थ्यो म धम्की दिन्थेँ– पख् ! भोलि स्कूल आउलास् !

अनि त के चाहियो ! ऊ हच्किहाल्थ्यो । उसलाई थाहा थियो हामी धेरैजना उसमाथि जाइलाग्नेछौं । कक्षाकोठामा हामी : म, सुरेश घर्ती, दिलीप चन्द, भद्र पुन, भीमबहादुर घर्ती, कमल बुढा, झलक शाहीलगायतका धेरैजना ऊमाथि जाइलाग्थ्यौं । हेडसरको डरले हातै त हाल्दैनथ्यौं ।

तर, हामीमध्ये एकजना कसैलाई उसले केही भन्यो वा केही गर्न खोज्यो भने हामी ‘गुण्डाशैली’मा उसलाई थर्काउँथ्यौं । र, आफ्नो अनुहार कालो बनाउँदै थपक्क बस्थ्यो, ऊ । रिसलाई घुटुक्क निल्थ्यो । ठूला आँखालाई झन् ठूला बनाएर घुर्थ्यो । बेञ्चमा मुड्की बजार्थ्यो । मानौं ऊ रिसले खाँबो चिथोरिरहेको बिरालो हो । 

मनमनै भन्थ्यो होला– पख्लास् कुनै दिन !

हामीलाई त माथिल्लो जातको हुनुको उन्माद थियो । उसलाई आफ्नै जातकाले भनिएकाले पनि साथ दिँदैनथिए । सायद, उसलाई साथ दिए आफूहरू पनि अपहेलित हुने भय हुँदो हो तिनीहरूमा । 

ओहो हामी त सामन्त पो रहेछौं !

कति अपराध गरिएको रहेछ त्यो बेला । अहिले सम्झिँदा पनि आफैंप्रति घृणा जागेर आउँछ । हजारौंपटक माफ दिन खोज्दा पनि मनले माफ दिँदैन । 

सोच्छु, कति अक्कलबहादुरहरू यसरी नै पढाइ छोड्न बाध्य भए होलान् ।

हुन त यसमा हामी भुराहरूको के दोष ? हाम्रो सामाजिक संरचना र हामीलाई सिकाइएको कुसंस्कारको उपज न थियो त्यो । समाजमा जे देख्यौं त्यही सिक्यौं । त्यही अनुसार छोइछिटो गर्‍यौं । हेप्यौं । 

तर, त्यो उमेरमा गरेका गल्तीहरूले अहिले पोल्दारहेछन् । 

हामीले उसलाई धेरैपटक उसको नाम बिगारेर गाली गरेका थियौं । उसलाई जातीय दुर्व्यवहार हुने शब्द प्रयोग गरेका थियौं । र, सबैभन्दा पश्चाताप त यो छ कि उसले तीन कक्षा पढ्दा पढ्दै स्कूल छोड्यो । 

हुनसक्छ, यसमा उसको गरिबीले पनि केही हदसम्म काम गर्‍यो होला । स्कूल आउनुभन्दा आयआर्जनका काममा लाग्नुपर्ने बाध्यता आइलाग्यो होला । तर, हामी त्यो व्यवहार पनि कुनै न कुनै रूपमा कारक बन्यो होला । 

के थाहा प्रमुख कारण हाम्रो अपहेलना, हाम्रो दुर्व्यवहार र त्यसले उसको बाल मनोदशामा जन्माएको हीनताबोध नै पो हो कि ! जसका कारण उसले सँधैका लागि स्कूल छोड्यो । 

प्रिय ! अक्कलबहादुर,
जीवनले धेरै उकाली ओराली गरिसकेको छ । दूधछहरीमा धेरै पानी बगिसक्यो । छहरे खोलामा धेरै पानी बगिसक्यो । खोप्टिलाको घट्टले धेरै अन्न पिसिसक्यो । तर, हाम्रो समाजको अझैपनि धेरै कुरा बग्न बाँकी छ । अझै पिस्न बाँकी छ घुन बनेर बसेको हाम्रो दरिद्र सोंंच ।

एक, हिसाबले भन्दा मैले त चराको जिन्दगी बाँचे । बुवामुवाले शिक्षक अथवा खरिदार, सुब्बा होस् भनेर राखेको चाहनाको हत्या गरेर एक ढंगको फकीर बनेर हिँडिरहेछु । आफ्नै रहरले । आफ्नै जिद्दीले । मनमौजी भएर हिँडेको छु । डेराकै जिन्दगी सही, कमसेकम कथित सपनाको शहरमा बाँचिरहेको छु ।  

हिँड्दा हिँड्दै जिन्दगीले धेरै हिउँद खेपेको छ । धेरै बर्खा भोगेको छ । हामी दुवैजना गरिब थियौं । हाम्रो आर्थिक अवस्था उस्तै थियो । अझ जग्गा जमिन त हाम्रो भन्दा तिम्रो नै धेरै थियो । सायद तिम्रो खेत थियो, जसका कारण तिमीले मैलेभन्दा धेरै भात खान पायौ । मैले भात खानलाई पनि चाडपर्व कुर्नुपर्थ्यो । 

तर, ममा कथित उपल्लो जातको हुनुको दम्भ थियो होला, तिमीमा ‘दलित’ हुनुको हीनताबोध । दम्भ र हीनताबोधले जिन्दगीलाई कसरी ध्वस्त बनाउँदो रहेछ हेर त !

मैले तिम्रोबारे साथी कर्णबहादुर बुढालाई सोधेको थिएँ । तिमी व्यावसायिक कृषक बनेको थाहा पाएँ । बारीभरी टमाटर, काउली र बन्दा फलाएको थाहा पाएँ । 

आहा ! माटोको सुगन्ध मिसाएर पसिनाको सुन्दर क्यानभास बनाएका होलाऊ हगि ? सायद, अहिले झन् बलिष्ठ भएका होलाऊ । मलाई एक्लै भेटेको बेला नकुट्नु है !

सोंचेको थिएँ, साथी कर्णसँग तिम्रो नम्बर मागेर फोन गरौं । तर, त्यसो गर्न चाहिनँ ।  अब गाउँ फर्किएको बेला तिमीलाई भेट्ने रहर छ । 

पल्टाउनु छ विगतका धूमिल पानाहरू । मिल्काउनुछ इतिहासको गर्तबाट अहंकारका काला अक्षरहरू । टिप्नुछ सुन्दर शब्दहरू । र, तिमीसँग भन्नुछ– बाल्यकालको त्यो समयका लागि सरी अक्कलबहादुर !

salt training

कमेन्ट गर्नुहोस्