०७ असार २०८३, आइतबार

बरहथवामा प्रहरी र स्थानीयबीच झडप, १० जना घाइते

असार ७, २०८२
सर्लाही
बरहथवामा प्रहरी र स्थानीयबीच झडप, १० जना घाइते
फाइल फोटो

सर्लाहीको बरहथवा नगरपालिका–४ स्थित खैरवा टोलमा आज बिहान बाटो विस्तारका क्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन् ।

सडक विस्तारका विषयमा विवाद भएपछि ढुङ्गा हानाहान भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै एक ‘राउन्ड’ गोली चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता बालिष्टर सिंहले जानकारी दिए ।

घटनामा प्रहरी निरीक्षक दिवाकर गणेशको दाहिने हातमा चोट लागेको छ भने प्रहरी जवान प्रमेश्वरराय यादवको टाउकोमा चोट लागेको छ ।

दुवै जनाको बरहथवा नगर अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, बरहथवा नगरपालिका–४ खैरवाका ५० वर्षीय टीकाबहादुर कार्की, ५२ वर्षीय कुलबहादुर कार्की, ३५ वर्षीय सञ्जय कुशवाह, ४२ वर्षीय रमेश महतो, ३८ वर्षीय इन्दु देवी, २६ वर्षीय प्रदीप कुशवाह, २८ वर्षीय अनिल कुशवाह र ३५ वर्षीय उमेश महतो घाइते भएका छन् ।​ 

घाइते मध्येका टीकाबहादुर कार्की र कुलबहादुर कार्कीलाई बरहथवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ‘रेफर’ गरिएको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

झडपमा संलग्न भएको अभियोगमा सात जनालाई नियन्त्रणमा लिइएको छ ।

कमेन्ट गर्नुहोस्