
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भैरहवा कारागारमा रहेकै बेला पार्टी स्थापनाको तेस्रो वार्षिकोत्सवको सन्दर्भमा उनकी पत्नी निकिता लामिछानेले सामाजिक सञ्जालमार्फत एक अपील जारी गर्दै आफ्ना पतिमाथि 'राज्य प्रायोजित' अन्याय र राजनीतिक प्रतिशोध साँधिएको गम्भीर आरोप लगाएकी छिन्।
उनले देशको भाग्य र भविष्य बदल्छु भनेर राजनीतिमा होमिएका व्यक्तिहरू यसरी फसाइनुपरे भविष्यमा कोही पनि राजनीति गर्न घरबाट ननिस्कने भन्दै चिन्ता व्यक्त गरेकी छिन्।
पार्टीका जन्मदाता नै 'कालकोठरीमा थुनिएको' अवस्थाले आफू 'दुःख-पीडाको पहाडले थिचिएको' निकिताले उल्लेख गरेकी छिन्। आफ्ना श्रीमान्माथि 'जबरजस्ती' ठगी, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता मुद्दा लगाइएको भन्दै उनले यसको प्रतिवाद गरेकी छिन्।
रवि लामिछाने कुनै पनि सहकारीको सदस्य, सेयरधनी, बचतकर्ता वा कर्मचारी भएको प्रमाण भए आफूसमक्ष पेश गर्न उनले चुनौती दिएकी छिन्।
निकिताले आफूले रवि लामिछानेसँग भेट नहुँदै आफ्नो व्यवसायबाट कमाएको सम्पत्तिलाई समेत कसुर गरी कमाएको सम्पत्तिको रूपमा देखाएर सम्पत्ति शुद्धीकरणको मुद्दा कसरी चल्न सक्छ भन्दै प्रश्न गरेकी छिन्। आर्थिक विषयको मुद्दामा करोडौं धरौटी लिइसकेपछि पनि मानिसको 'हाड, छाला, पसिना, रगत' लिनेजस्तो व्यवहार भइरहेको उनको गुनासो छ।
उनले यही अनुसन्धान हो? यही न्याय हो? यही सरकार हो? यही अदालत हो? यही बुद्धिजीवी समाज हो? यही मानवअधिकार हो? भन्दै आक्रोश व्यक्त गरेकी छिन्।
केवल तीन वर्ष राजनीति गरेको आफ्ना श्रीमान्ले देश लुटेको हो ? भन्ने प्रश्न उनले प्रश्न सोधेकी छिन्।
दैवले जुराइदिएको दुईजनाको जीवनमा अहिले आठ-आठवटा अदालतका मुद्दा खेप्नुपरेको भन्दै उनले आर्थिक र मानसिक रूपमा आफूमाथि बज्रपात भएको बताएकी छिन्। जीवनमा दुःख र सास्ती आउनु स्वाभाविक भए पनि अहिले भोगिरहेको दुःख 'भवितव्य' वा 'अस्थायी' नभई 'प्रायोजित' र 'राज्य प्रायोजित' रहेको उनको आरोप छ। राज्यले आफ्नै नागरिकविरुद्ध यो हदको दुश्मनी र प्रतिशोध किन साँध्छ भन्दै उनले प्रश्न गरेकी छिन्।
आफ्ना श्रीमानमाथि भएको अन्यायविरुद्धको हस्ताक्षर अभियानमा सहभागी हुन छिट्टै चितवन आउने निकिताले घोषणा गरेकी छिन्। चितवनले आफूहरूलाई आफ्नो परिवार मानेको कारणले गर्दा त्यहीँबाट अभियानमा सहभागी हुने उनले बताएकी छिन्।