
लमजुुङको मस्र्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा जलसतह घट्दै गएपछि स्थानीय चिन्तित भएका छन् ।
विगतमा भरिभराउ रहने दूधपोखरीकुण्ड पछिल्लो समय जलसतह घट्दै गएपछि यहाँको सौन्दर्यमा चुनौती थपिएको सरोकार भएकाहरूले बताएका हुन् ।
पथप्रदर्शक गङ्गा घलेले जलसतह घट्दै जाँदा यहाँको सौन्दर्यमा चुनौती बढाएको भन्दै यहाँको धार्मिक पर्यटनमा यसले नकारात्मक असर पार्ने देखिएको बताए । पर्यटकीय गन्तव्य दूधपोखरीमा स्नान गरेमा पुण्य प्राप्त हुने जनविश्वासका कारण टाढाटाढाबाट दर्शनार्थी पुग्ने गरेका उनको भनाइ छ ।
समुद्री सतहबाट चार हजार ६०० मिटर उचाइमा रहेको यो तीर्थस्थललाई देवादिदेव महादेवको बासस्थानका रूपमा लिने गरिन्छ । प्रत्येक वर्षको जनैपूर्णिमामा विशेष मेला लाग्ने यो कुण्डको जलसतह पछिल्ला वर्षमा घट्दै गएको घलेले जानकारी दिए ।
धार्मिक एवं पर्यटकीय महत्त्व रहेको दूधपोखरीकुण्डको जलसतह घट्दै गएकामा सम्बद्ध निकायले समयमा समस्या पहिचान गरी समाधान खोज्नुपर्ने जरुरी रहेको पथप्रदर्शक विकास गुरुङले बताए ।