
मलेसियामा जारी एसीसी पुरुष यू–१६ इष्ट जोन कप–२०२५ प्रतियोगिताको आइतबार सम्पन्न खेलमा नेपालले जीत हात पारेको छ । नेपालले सिंगापुरलाई ६ विकेटको फराकिलो अन्तरले हराएको हो । नेपालका बलर र ब्याट्सम्यान दुवैले उत्कृष्ट प्रदर्शन गरे ।
जारी प्रतियोगितामा नेपालले खेलेको यो पहिलो खेल हो । नेपाल दुई अंक बटुल्दै अंक तालिकाको पहिलो स्थानमा आसीन छ । समूह ‘ए’ मा नेपाल र सिंगापुरका अतिरिक्त भुटान, इन्डोनेसिया र जापान पनि छन् ।
टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ३६.१ ओभरमा १ सय ३८ रन बनाएर अलआउट भयो ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३३.३ ओभरमा केवल चार विकेट गुमाएर विजयी लक्ष्य पूरा गर्यो ।
नेपाली टोलीको जीतमा प्रसिद्ध जैसीले उत्कृष्ट अर्धशतकीय पाली खेले । ओपनर ब्याट्सम्यान प्रसिद्धले अविजित ५५ रन बनाए । यस क्रममा उनले ९७ बलको सामना गरी पाँच चौका पनि प्रहार गरे । अर्का ओपनर सुर्यान्शु कोइराला भने नौ रनमै पेभेलियन फर्किए ।
नेपालको जीतमा चौथो नम्बरका ब्याट्सम्यान रौनक श्रीवास्तवले पनि ४० रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका उनले ४४ बलको सामना गरी एक छक्का र पाँच चौका पनि प्रहार गरे । उक्त खेलमा छक्का प्रहार गर्ने उनी एकमात्र खेलाडी हुन् ।
शुभम खनाल नौ रनमा अविजित रहे । सिंगापुरका बलर आकाश तेजाले तीन विकेट लिए ।
त्यसअघि, सिंगापुरका लागि कप्तान रियान नाइकले अर्धशतकीय पाली खेलेका थिए । तर, उनको अर्धशतक टोलीको जीतका लागि पर्याप्त हुन सकेन । उनले ५३ बलमा नौ चौकाको मद्दतले ५३ रन बनाए । ओपनर आहान भुथन्दमले ३३ बलमा सात चौकाको मद्दतले ३८ रन बनाए ।
ओपनर रोहन अरुनले ११ र प्रानन्द मेदुरीले १२ रन बनाए । सिंगापुरका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपाली टोलीका बलरले प्रारम्भदेखि नै सिंगापुरका ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । विपिन प्रसाद शर्मा एक्लैले चार विकेट लिए । कप्तानसमेत रहेका विपिनले १० ओभरमा एक मेडनसहित केवल ३४ रन खर्चिए ।
सचिन भट्टले पनि तीन विकेट हात पारे । उनले ६.१ ओभरमा दुई मेडन राख्दै केवल १८ रन खर्चिए । अभय यादव र शुभम खनालले एक/एक विकेट लिए । सिंगापुरले अतिरिक्त ११ रन पाएको थियो ।
नेपालले दोस्रो खेल मंगलबार जापानसँग खेल्नेछ ।