
लिड्समा जारी इङ्ल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेट भारतीय टोलीका कप्तान शुभमन गिलले उत्कृष्ट शतकीय पाली खेले । भारतका तीन ब्याट्सम्यानले शतक बनाएपछि भारतले पहिलो पालीमा चार सय ७१ रन जोडेको थियो ।
कप्तान गिलले एक सय ४७ रन बनाएका थिए । यस क्रममा उनले दुई सय २७ बलको सामना गरी एक छक्का र १९ वटा चौका पनि हिर्काएका थिए ।
टोलीका लागि गतिलो योगदान गरे पनि भारतीय कप्तान शुभमनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट कारबाही भोग्नु पर्ने अवस्था सृजना भएको छ ।
इङ्ल्यान्डविरुद्ध पहिलो पालीमा ब्याटिङ गर्दा आफूले लगाएको मोजाका कारण शुभमन अप्ठ्यारोमा परेका हुन् । उनी कालो रंगको मोजा लगाएर ब्याटिङमा उत्रिएका थिए ।
आईसीसीले टेस्ट क्रिकेटमा खेलाडीका लागि निर्धारण गरेको पोशाकसम्बन्धी नियम अनुसार, कुनै पनि खेलाडीले कालो मोजा लगाएर ब्याटिङ गर्न पाउँदैनन् ।
टेस्ट क्रिकेटमा आईसीसी निश्चित रंगको मोजा लगाएर मात्र ब्याटिङ गर्ने अनुमति दिन्छ । आईसीसीको नियम १९.४५ अनुसार, टेस्ट क्रिकेटमा ब्याटिङ गर्ने खेलाडीले सेतो र सेतोसँग मिल्दो–जुल्दो रंगको मोजा लगाएर मात्र खेल्न पाउँछन् ।
त्यसैले कालो रंगको मोजा लगाएर खेलेवापत शुभमनले जरिवाना तिनुपर्ने हुन्छ । म्याच रेफ्री रिची रिचर्डसनले उनीमाथि म्याच फिको १० देखि २० प्रतिशतसम्म जरिवाना लगाउन सक्ने समाचारमा जनाइएको छ ।
यसअघि सन् २०१६ मा क्रिस गेलले कालो रंगको मोजा लगाएर टेस्ट क्रिकेट खेलेका थिए । सोही आरोपमा उनले जरिवाना तिर्नु परेको थियो । सन् २०१८ मा केएल राहुलले निर्धारितभन्दा फरक रंगको हेलमेट लगाएर टेस्ट खेलेका थिए ।
त्यसैले उनले म्याच फिको १० प्रतिशत रकम जरिवाना तिर्नु परेको थियो । यसका अतिरिक्त सन् २०१९ मा इमाम उल हक पनि निर्धारितभन्दा फरक लोगो भएको पोशाक लगाएर मैदानमा पुगेका थिए । त्यसैले उनले पनि जरिवाना तिर्नु परेको थियो ।