२८ जेठ २०८३, बिहीबार

आम्दानी खुम्चिँदै गर्दा बजेटको आकार बढाउने विराटनगर महानगरको तयारी

असार ९, २०८२
विराटनगर
आम्दानी खुम्चिँदै गर्दा बजेटको आकार बढाउने विराटनगर महानगरको तयारी

संघ र प्रदेश सरकारपछि अब स्थानीय तहहरूले बजेट ल्याउने तयारी गरिरहेका छन् । विराटनगर महानगरपालिका पनि बजेटको गृहकार्य गरिरहको छ । महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा बजेट तर्जुमा तथा राजश्व दर पुनरावलोकनको तयारी गरिएको महानगरपालिकाले जनाएको छ । स्थानीय तहहरूले असार १० गते भित्रमा बजेट ल्याउनु पर्ने संवैधानिक प्रावधान छ । 

महानगरले गतवर्षको तुलनामा बजेटको आकार केही बढाउने तयारी गरेको छ । नगरबासीको मागका आधारमा योजनाहरूको संख्या बढाउनु पर्ने बाध्यता रहेको महानगर स्रोतले जनाएको छ । 

चालु आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको महानगरले यसपालि झण्डै ४ अर्ब हाराहारीको बजेट ल्याउनेगरी छलफल गरिरहेको छ । 

विराटनगरले मंगलबारको नगरसभामा प्रस्तुत गर्ने बजेटका सम्बन्धमा छलफल गर्न सोमबार कार्यपालिका बैठक बोलाएको छ । विराटनगर महानगरपालिकाका उपप्रमुख कार्कीले कार्यपालिकाको बैठकमा बजेटको विषयमा छलफल गरेपछि मात्र आगामी वर्षको बजेटको विषयमा केही भन्न सकिने बताइन् । उनले भनिन्, ‘महानगरपालिकाको आवश्यकता सम्बोधन गर्नेगरी र नागरिकले महसुस गर्ने ढंगको बजेट आउँछ । बाँकी विषय सोमबारको बैठकमा हामी नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गर्छौं र नगरसभामा प्रस्तुत गरेपछि सबै विषय सार्वजनिक हुन्छ ।’

बजेटको आकार चालु वर्षको तुलनामा केही बढ्न सक्ने उपप्रमुख कार्कीले संकेत गरेकी छन् । उनले भनिन्, ‘बजेटको आकार गतवर्षभन्दा केही बढ्न सक्छ तर, अंकबारे भने अहिले सार्वजनिक गर्न मिलेन ।’ 

आउँदो वर्षको बजेट विगतको निरन्तरताभन्दा केही फरक गर्न खोजेको उपप्रमुख कार्कीले बताइन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा केही नयाँ शुरूआत हुनसक्ने उनको भनाइ थियो । उनले नमूना विद्यालयहरूबारे केही फरक मापदण्ड बन्न सक्ने संकेत गरिन् । नमूना विद्यालयहरूको संख्या थप्नेभन्दा पनि त्यसको स्वरूप र मापदण्डमा फरक गर्न खोजेको उनको भनाइ थियो । उनले भनिन्, ‘नमूना विद्यलयको संख्या थप्नेभन्दा पनि कस्तो नमूना बनाउने हो भन्नेतर्फ ध्यान दिइनेछ ।’

बजेटको तयारी अन्तिम चरणमा पुगेको र बजेटले लिने उद्देश्य र प्राथमिकताहरूमा विगतभन्दा धेरै भिन्न नहुने महानगरका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले बताए । उनले बजेटको मुख्य प्राथमिकता भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य नै हुने पनि उनले जानकारी दिए । उनले भने, ‘पूर्वाधार निर्माणमा नै जनताको जोड रहेकोले हामीले पूर्वाधारमा नै ध्यान दिन्छौं । साथै डुबान समस्या समाधान गर्न आवश्यक पूर्वाधारको बारेमा महानगरले छलफल गरिरहेको छ ।’

महानगरले आगामी वर्ष सामुदायिक कुकुरलाई व्यवस्थित गरेर राख्न कुनै संरचना बनाउनेगरी छलफल गरिरहेको जनाएको छ । त्यसलाई महानगरका प्रमुख नागेश कोइरालाले विशेष चासो दिइरहेको स्रोतले बताएको छ । 

विराटनगर महानगरपालिकाले आगामी वर्ष बजेटको आकार बढाउने तयारी गरिरहेको भए पनि चालु वर्षमै लक्ष्यअनुसार आम्दानी भने गर्न सकेको छैन । एक अर्ब १० करोड रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको महानगरपालिकाले आर्थिक वर्ष सकिन तीन साता मात्र बाँकी रहँदासम्म ४७ करोड ५० लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । यो अनुमानित आन्तरिक आयको ४३.५७ प्रतिशत मात्र हो । वर्षको अन्तिमसम्म पुग्दा ५० प्रतिशत अर्थात् ५५ करोड रुपैयाँ आम्दानी गर्न सकिने अनुमान गरेर महानगरले बजेट बनाइरहेको छ । 

महानगरले गत आर्थिक वर्ष २०८०/८१ मा संशोधनसहितको ३ अर्ब ३६ करोड १७ लाख बजेट तर्जुमा गर्दा जेठ मसान्त सम्ममा २ अर्ब ३७ करोड ५४ लाख ६२ हजार रुपैयाँमात्र आम्दानी गरेको थियो । आन्तरिक आय ८९ करोड ५० लाख लक्ष्य राख्दा महानगरले सोही अवधिमा ४१ करोड ९८ लाखमात्र आम्दानी भएको छ । जुन आर्थिक वर्षको अन्त्यमा केही सुधार भई कूल आम्दानी २ अर्ब ६० करोड हाराहारी मात्रै गरेको थियो । 

चालु वर्षमा ३ अर्ब ४९ करोडको आय अनुमान गरेको भए पनि २ अर्ब ६० करोड हाराहारीमै आम्दानी हुने अनुमानगरी बजेट तर्जुमा गरिरहेको स्रोतले बताएको छ । 

यस वर्ष पनि संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, राजश्व बाँडफाँट बापतको रकम, विषेश अनुदान र सशर्त अनुदान सबैतिर लक्ष्यको तुलनामा कम आम्दानी गरेको छ । त्यसँगै  महानगरको आन्तरिक आम्दानी पनि ५० प्रतिशतभन्दा बढी संकलन हुने अवस्था छैन । 

महानगरपालिकाको चालु खर्च झण्डै ८० करोड रुपैयाँ हाराहारी रहेको तर, आन्तरिक आम्दानी भने ५० देखि ६० करोड मात्र हुने सम्भावना छ । आन्तरिक आम्दानीबाट कमसेकम चालु खर्च धान्नु पर्ने मान्यता राखिन्छ । तर, महानगरपालिका भने स्थानीयबाट आउने योजनाको चाप धान्नकै लागि भए पनि बजेटको आकार बढाउने तयारीमा छ ।

salt training

कमेन्ट गर्नुहोस्