
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले नेपालका ७२ जिल्ला अमेरिका, चीन या भारतलाई लीजमा (भाडामा) दिन सकिने अभिव्यक्ति दिएपछि संसद्मा हंगामा भएको छ ।
विनियोजन विधेयकमाथि आइतबार प्रतिनिधिसभामा भएको छलफलका क्रममा अमरेशले ५ वटा जिल्लामा मात्र बजेट गएको भन्दै बाँकी जिल्ला लीजमा दिन प्रस्ताव गरेका थिए ।
त्यसलगत्तै एमालेका मुख्य सचेतक महेश बर्तौलाले नियमापत्ति गर्दै राष्ट्रघाती अभिव्यक्ति दिने सांसदलाई कारबाही गर्नुपर्ने बताए ।
००००
सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसद्मा दिएको ‘पाँच वटा जिल्लाबाहेक अरु जिल्ला भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन् ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापासहित १४ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पशुपति क्षेत्र विकास कोषको सम्पत्ति हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
प्रवक्ता पौडेलका अनुसार, पशुपतिमा विद्युतीय शवदाह गृहको मशिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
००००
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले ‘भिजिट भिसा’ प्रकरणबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच दुई बुँदे सहमतिमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलमा मुख्य सचेतक बर्तौलाले दुई बुँदे सहमतिका पक्षमा केही दिनमै संयन्त्र बनाउने जानकारी दिए ।
००००
प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले अवरोध गरेपछि कर्णाली प्रदेशसभाको बैठक स्थगन भएको छ ।
प्रदेशसभाको आइतबारको बैठकमा सभामुख नन्दा गुरुङले बैठक शुरू गरेलगत्तै माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बैठकमा समय मागेर बोलेका थिए । उनले बजेट आर्थिक ऐन विपरीत आएको आरोप लगाए ।
००००
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने गरी निर्णय गरेका छन् ।
स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार र व्यवस्थाका लागि सक्रियता देखाएका मन्त्री पौडेलले नागरिकले थप सेवा पाउने गरी व्यवस्था गर्न लागेका हुन् ।
००००
कोशी प्रदेश सरकारले ल्याएको बजेटप्रति सत्तापक्षीय सांसदहरू नै असन्तुष्ट देखिएका छन् ।
आइतबार बसेको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा कांग्रेसका सांसदहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद पदबाटै राजीनामा दिनेसम्मको चेतावनी दिएका छन् ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकासका लागि महत्त्वपूर्ण मानिएका दैलेखको पेट्रोलियम ग्यास उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानीको उत्पादन प्रक्रियालाई तीव्र पार्न निर्देशन दिएका छन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरूसँगको ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।
००००
इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आइतबार साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको बा८९ प २२६६ नंको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
००००
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि रु आठ अर्ब ३५ करोडको बजेट ल्याएको छ ।
महानगरपालिकाको १७औँ नगरसभाको बैठकमा आइतबार महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
००००
जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट गत जेठ १६ गते पक्राउ पुर्जी जारी भएको हो । त्यसयता सांसद रायमाझी फरार छिन् ।
००००
साता पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ ।
आइतबार नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घटेर दुई हजार पाँच सय ९५ दशमलव ९७ को विन्दुमा कायम भएको हो ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवल शम्शेर राणाले तीन महिनापछि संसद्मा सम्बोधन गरेका छन् ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका उनी बीचमा हाजिरी जमानीमा रिहा भएका थिए ।