२६ जेठ २०८३, मंगलबार

काठमाडौं विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कूल पाठ्यक्रम हस्तान्तरण

असार ९, २०८२
काठमाडौं
काठमाडौं विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कूल पाठ्यक्रम हस्तान्तरण

देशभर सञ्चालन भइरहेका प्रि-स्कूल शिक्षामा एकरूपता ल्याउने उद्देश्यसहित काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसन (केयूएसओईडी) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)को सहकार्यमा तयार गरिएको प्रि-स्कूल पाठ्यक्रम नेसनल प्याब्सनलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डीन प्राडा. बालचन्द्र लुइँटेलले पाठ्यक्रम नेसनल प्याब्सनकी केन्द्रीय अध्यक्ष गीता राणा क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष क्षेत्रीले देशभरका प्रि-स्कूलहरू आ–आफ्नै शैलीमा सञ्चालन हुँदै आएको बताउँदै अब साझा पाठ्यक्रमले शिक्षामा समानता ल्याउने बताइन् । ‘शिक्षा सिकाइमा आधारित हुनुपर्छ र डिजिटल शिक्षाको दिशामा पनि अग्रसर हुन आवश्यक छ, उनले भनिन् ।

उनले पाठ्यक्रम लिपिबद्ध भएपछि पाठ्यपुस्तक र सिलेबस निर्माणको कार्य थालिने जानकारी दिँदै काठमाडौं विश्वविद्यालयसँगको सहकार्यलाई दीर्घकालीन रूपमा अघि बढाउने विश्वास व्यक्त गरिन् ।

काठमाडौं विश्वविद्यालयका डीन प्राडा. लुइँटेलले विश्वविद्यालयको मुख्य उद्देश्य ज्ञानमार्फत् समाजमा योगदान पुर्‍याउनु रहेको उल्लेख गर्दै शिक्षा संस्थाहरूले केवल डिग्री वितरण गर्ने संस्थामा सीमित नहुने र सामाजिक रूपान्तरणको लागि प्रेरणादायी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।

‘हामीले उत्पादन गर्ने ज्ञान प्रयोगयोग्य, सान्दर्भिक र समाजका जटिल चुनौती समाधान गर्न सक्षम हुनुपर्छ’, उनले भने, ‘यसरी विकसित गरिएको पाठ्यक्रमले प्रारम्भिक बालशिक्षामा गुणस्तरीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।’

उनले नेपालको शिक्षाले अब संकुचित पाठ्यपुस्तक र अंककेन्द्रित मूल्यांकन प्रणालीबाट बाहिर निस्केर सृजनशील, समावेशी र बालमैत्री सिकाइतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसन अन्तर्गत प्रारम्भिक बाल शिक्षा तथा व्यावसायिक अध्ययन विभागकी प्रमुख डा. पार्वती ढुङ्गानाले सहकार्यको महत्त्वलाई जोड दिँदै पाठ्यक्रम निर्माण कुनै एक संस्थाको काम मात्र नभई शिक्षा वैज्ञानिक, नीति निर्माता, विद्यालय सञ्चालक र शिक्षकबीचको समन्वय र साझा प्रयासबाट मात्र प्रभावकारी हुन सक्ने बताइन् ।

‘पाठ्यक्रम बनाउने काम सिर्जनात्मक मात्र होइन, अनुसन्धानमा आधारित र साक्ष्य–समर्थित हुनुपर्छ’, उनले भनिन्, ‘बालबालिकाको समग्र विकासका लागि सिकाइको मनोविज्ञान, सामाजिक सन्दर्भ, स्थानीय आवश्यकता र अन्तर्राष्ट्रिय अनुभवलाई समेटेर पाठ्यक्रम विकास गर्नु अत्यावश्यक हुन्छ ।’

उनले प्रारम्भिक बाल शिक्षा मुलुकको समग्र शैक्षिक आधारभूत संरचना निर्माणको जग भएको उल्लेख गर्दै विश्वविद्यालय र नेसनल प्याब्सनबीचको सहकार्यले निजी क्षेत्रलाई समेत शैक्षिक सुधारको साझेदार बनाएको बताइन् ।

त्यस्तै, नेसनल प्याबसनका पूर्वअध्यक्ष एवं शिक्षा नीति तथा प्रशिक्षण आयोगका संयोजक कर्णबहादुर शाहीले नेपालको भविष्य कक्षा कोठामै निर्माण हुने भएकाले प्रारम्भिक बालशिक्षालाई अझ प्रभावकारी, वैज्ञानिक र समकालीन आवश्यकताअनुसार सुदृढ गर्नुपर्ने धारणा व्यक्त गरे ।

शाहीले प्रारम्भिक शिक्षा प्रणालीलाई लामो समयदेखि उपेक्षित गरिएको भन्दै अब त्यसलाई नीति निर्माणदेखि कार्यान्वयनसम्म प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नेसनल प्याब्सनका पूर्वअध्यक्षहरू पण्डव हमाल, ऋतुराज सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्