
नजमुल हुसैन सान्तोले बंगलादेशको टेस्ट टोलीको कप्तानबाट राजीनामा दिने तयारी गरेका छन् ।
श्रीलंकाविरुद्धको दोस्रो टेस्ट क्रिकेटपछि उनले कप्तानको जिम्मेवारीबाट बिदा लिने समाचारमा जनाइएको छ ।
बंगलादेश क्रिकेट बोर्डले सान्तोलाई एक वर्षका लागि टेस्ट टोलीको कप्तान बनाएको थियो । तर, बोर्डसँगको असहमतिका कारण उनले कप्तानको जिम्मेवारीबाट बिदा लिन लागेको दाबी समाचारमा गरिएको छ ।
यस विषयमा उनले बोर्डलाई समेत जानकारी गराइसकेका छन् । शुरूमा शान्तो टी–२० र एकदिवसीय टोलीको मात्र कप्तान थिए । क्रिकबजका अनुसार, शान्तोले श्रीलंकाविरुद्धको दोस्रो टेस्टपछि कप्तान पद छाड्ने सम्भावना छन् ।
समाचारमा जनाइए अनुसार, यस विषयमा उनले बोर्डलाई लिखित रूपमै जानकारी गराइसकेका छन् । जुनको प्रारम्भमा बोर्डले शान्तोको स्थानमा मेहदी हसन मिराजलाई एकदिवसीय टोलीको कप्तान बनाउने निर्णय लिएको थियो ।
बोर्डको उक्त निर्णयबाट शान्तो असन्तुष्ट थिए । उनी एकदिवसीय टोलीको कप्तानमा यथावत् रहन चाहन्थे ।
सोही विषयलाई लिएर बोर्डसँग उनको असहमति बढेको बताइएको छ । बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लामले भने यस विषयमा केही बताएका छैनन् ।