२३ जेठ २०८३, शनिबार

वर्षौंपछि स्वास्थ्यमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं- स्वास्थ्य मन्त्री पौडेल

असार ९, २०८२
काठमाडौं
वर्षौंपछि स्वास्थ्यमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं- स्वास्थ्य मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समयपछि स्वास्थ्य क्षेत्रमा पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया शुरू भएको बताएका छन् ।

स्वास्थ्य जनशक्ति अभाव भए पनि दशकौंसम्म जनशक्ति थप गर्ने गरी स्वास्थ्य क्षेत्रको संगठन तथा व्यवस्थापन सर्भेक्षण गरेर प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्‌मा पेस गर्नेगरी अन्तिम चरणमा रहेको उनले बताए । 

सोमबार प्रतिनिधिसभामा मन्त्रालयको बजेटबारे छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले नयाँ आर्थिक वर्षमा ९५ अर्ब ८१ करोड विनियोजन गरिएको जानकारी दिए ।

बजेटमार्फत सघन जलनको उपचार, मुटु, मिर्गौला प्रत्यारोपण, क्यान्सर लगायतका विशिष्टकृत सेवा सातै प्रदेशका एक/एक संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुनेगरी व्यवस्था गरिएको मन्त्री पौडेलले बताए ।

मन्त्री पौडेलले पदभार सम्हालेलगत्तै विशिष्टिकृत उपचार सेवा प्रदेशमा पुर्‍याउने भन्दै सेवा थालेका थिए । यसका लागि नयाँ आर्थिक वर्षमा बजेट विनियोजन भएको छ ।

नयाँ बजेटमार्फत् ‘म स्वस्थ, मेरो समुदाय स्वस्थ’का लागि ७३६ स्थानीय तहमा जनस्वास्थ्यका कार्यक्रमको प्रभावकारी सञ्चालनका लागि एक जनस्वास्थ्य अधिकृतको व्यवस्था, आयुर्वेद, योग ध्यान तथा परम्परागत चिकित्सा पद्दतिमार्फत् निरोगी नागरिक बनाउन नागरिक आरोग्य कार्यक्रमलाई सबै स्थानीय तहमा विस्तार तथा मानसिक स्वास्थ्य प्रवर्द्धनजस्ता निरोधात्मक कार्यक्रम कार्यान्वयन हुने उनले बताए ।

पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर  तथा प्रजनन् रुग्णता सम्बन्धी स्वास्थ्य सेवा सबै स्थानी यतहमा लागू हुने गरि विनियोजन गरिएको उनले बताए । १४ वर्षमूनिका बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाउने व्यवस्था मिलाइएको मन्त्री पौडेलले उल्लेख गरे ।

निर्माण सम्पन्न भएका आधारभूत अस्पतालको तीनै तहको सहकार्यमा संघ सरकारबाट चिकित्सकसहित औजार उपकरण उपलब्ध गराई साउन १ गतेदेखि सञ्चालनमा ल्याइने मन्त्री पौडेलले बताए । 

उनले निर्माणाधीन आधारभूत अस्पतालको सम्पन्नता र निर्माण शुरू नभएका स्थानीय तहमा शुरूआत गर्न रणनैतिक स्थानको म्यापिङ कार्य भइरहेको जानकारी समेत दिए ।

स्वास्थ्य बीमा बोर्डको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै उनले प्रविधिमा स्तरोन्नति तथा सबै किसिमका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रम एकीकृत ढङ्गबाट बीमामार्फत् सञ्चालन गरिने बताए ।

बीमित सेवाग्राहीलाई सबै किसिमका सुविधा थैली, सेवा प्रदायक अस्पतालमा स्वास्थ्य बीमाको शोधभर्ना, भुक्तानी बाँकी रहेको बक्यौता तत्काल फरफारक गरिने मन्त्री पौडेलले बताए । 

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन सम्पूर्ण पक्षमा सुधार र बीमासँग सम्बन्धित सम्पूर्ण कानूनी व्यवस्था लागू गरिने समेत मन्त्री पौडेलले बताए ।  

मधेशमा मिर्गौला उपचार केन्द्र, काठमाडौंमा न्यूरो उपचार केन्द्र
संसद्‌मा सम्बोधनका क्रममा स्वास्थ्यमन्त्री पौडेलले मधेश प्रदेशमा विशेष सुविधासहितको मिर्गौला उपचार केन्द्र स्थापना गरिने बताए । उनले काठमाडौंमा सुविधासम्पन्न राष्ट्रिय न्यूरो उपचार केन्द्र स्थापनाका लागि बजेटको व्यवस्था गरिएको समेत जानकारी दिए । 

निर्माण सम्पन्न भक्तपुरस्थित छाती रोग अस्पताल र बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योगसेवा केन्द्र सञ्चालनका लागि बजेट विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

मन्त्री पौडेलले ठूला संघीय अस्पताल कोशी अस्पताल, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, मानसिक अस्पताल पाटन, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रामक तथा सरुवा रोग अस्पताल टेकु, पोखरामा आयुर्वेद योग तथा प्राकृतिक चिकित्सासहितको अस्पताल, नरदेवी आयुर्वेद अस्पताल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।

यसैगरी, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर उपचारमा अत्यावश्यक साइक्लोट्रोन उत्पादन गर्ने गरी पीईटी स्क्यान सेवा सञ्चालन गर्न बहुवर्षीय योजनामा समावेश गरिएको मन्त्री पौडेलले उल्लेख गरे ।

आगामी आवमा औजार उपकरण जनशक्ति पूर्वाधार विकासमा थप उपलब्धि हासिल हुने भन्दै उनले संघीय अस्पतालमा अत्यावश्यक औजार उपकरण उपलब्ध हुने गरी बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

संसद्‌मा बजेटबारे जानकारी गराउने क्रममा मन्त्री पौडेलले ८ कडा रोगको उपचारमा थप सुविधाको व्यवस्था मिलाइएको बताए । थारू समुदायमा आनुवंशिक रोगको रूपमा देखा परिरहेको सिकलसेल एनिमियाका बिरामीका लागि निःशुल्क औषधी र सहुलियतपूर्ण उपचारको व्यवस्था गरेको उनले बताए ।

मन्त्री पौडेलले नेपाली श्रमिकको स्वास्थ्य रक्षाका पक्षमा रोजगारदातालाई जिम्मेवार बनाउन पहल थालेको पनि उल्लेख गरे ।

‘यसका लागि द्विपक्षीय श्रम सम्झौतामा समावेश गर्न तथा आप्रवासी कामदारको स्वास्थ्य सुरक्षालाई विश्वव्यापी मान्यता दिलाउन विश्व स्वास्थ्य संगठनसमक्ष रोजगारदाताको जिम्मेवारी सम्बन्धी नयाँ सिद्धान्त निर्माणका लागि औपचारिक प्रस्ताव लैजाने तयारी गरेका छौं’, मन्त्री पौडेलले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्