
राइडर्स युनियन नेपालको आयोजनामा काठमाडौंमा प्लेटफर्म राइडर्स ट्रेड युनियन आन्दोलनसम्बन्धी अभिमुखीकरण कार्यक्रम र ट्राफिक सचेतना अभियानको औपचारिक शुरूआत गरिएको छ ।
कार्यक्रमका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का महासचिव लक्ष्मण शर्माले प्लेटफर्म इकोनोमीको वर्तमान अवस्था र त्यसमा कार्यरत श्रमिकको अधिकार र सुरक्षा सम्बन्धमा नेपाल ट्रेड युनियन महासंघको धारणा प्रस्तुत गरे । उनले ट्रेड युनियन आन्दोलन आवश्यक र समय सापेक्ष रहेको बताए । उनले राइडरहरूलाई एकजुट भई अधिकारका लागि संगठित आवाज उठाउन समेत आग्रह गरे ।
यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि प्रहरी निरीक्षक ज्ञानबहादुर माझीले ट्राफिक नियम, सडक सुरक्षाका मापदण्ड र राइडरहरूले पालना गर्नुपर्ने कानूनी प्रक्रियाबारे जानकारी दिए ।
साथै, कार्यक्रममा सहभागी राइडरहरूले ट्राफिक र कानूनी पक्षका विभिन्न जटिलताबारे जिज्ञासा राख्दा उनले आवश्यक सुझाव र परामर्श पनि दिए ।

कार्यक्रममा दोस्ती राइड प्रालिका तर्फबाट राइडरहरूको स्वास्थ्य तथा आपतकालीन सहायता कोषका लागि राइडर्स युनियन नेपाललाई एक लाख रूपैयाँको आर्थिक सहयोग प्रदान गरिएको घोषणा गरिएको थियो । यस सहयोगलाई राइडरहरूको सुरक्षाका लागि सशक्त कदमको रूपमा लिइएको छ ।
कार्यक्रमले प्लेटफर्म इकोनोमीमा कार्यरत श्रमिकहरूको संगठन र उनीहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्ने दिशा तर्फको महत्वपूर्ण प्रयासको थालनीको संकेत दिएको छ।
कार्यक्रममा याङ्गो नेपालका प्रतिनिधि सन्तोष पाण्डे, याङ्गो नेपालका साझेदार कम्पनी दोस्ती राइड प्रालिका प्रतिनिधि जेनिस श्रेष्ठ र निरज काफ्ले सहभागी थिए ।