ललितपुर र नवलपरासीमा करेन्ट लागेर एक/एक जनाको मृत्यु भएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथली ठटिकोट बस्ने ६४ वर्षीय आशाकाजी महर्जनको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँस्थित निर्माणाधीन घरको जग खनेको खाल्टोमा जमेको पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, नवलपरासीको सरावल गाउँपालिका-४ गोबरहिया बस्ने ३२ वर्षीय नारायण चौधरीको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँस्थित खेतमा पम्पसेट जडान गर्नका लागि खेतमा राखेको मिटरबाट पम्पसेटसम्म तार तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा थप उपचारका क्रममा मृत्यु भएको हो ।