
प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न ल्याइएको भए पनि नराम्रो गर्ला कि जस्तो भएर विद्युत् खरिद सम्बन्धमा ल्याइएको ‘टेक एन्ड पे’ हटाइएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफका क्रममा ओलीले नराम्रो गर्ला कि भनेर सो व्यवस्था हटाइएको बताएका हुन् ।
‘टेक एन्ड पे किन हटाइयो ? साथीहरूले सोध्नुभयो । राम्रो गर्न ल्याइएको थियो, नराम्रो गर्ला कि जस्तो भयो, हटाइयो !’ ओलीले भने । ओलीले यसो भन्दा संसद्मा हाँसो गुञ्जिएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दबाब दिएपछि सरकार टेक एन्ड पे को नीतिबाट पछि हटेको थियो । प्रधानमन्त्रीले जवाफ दिएपछि विनियोजन विधेयकलाई निर्णयार्थ पेश गरिँदैछ ।
नेपाल विद्युत् प्राधिकरणले निजी ऊर्जा उत्पादकसँग पीपीए गर्दा विद्युत् खरिद गरे पनि, नगरे पनि पैसा दिनुपर्ने गरी सम्झौता गर्ने गरेको छ । तर, सरकारले खरिद गरिएको विद्युतको मात्र पैसा दिने गरी टेक एन्ड पेको व्यवस्था ल्याएको थियो ।
विद्युत वितरणमा नेपाल विद्युत् प्राधिकरणको विकल्प नरहेका बेला उसले चाहिने जति मात्र विद्युत् खरिद गर्ने हो भने निजी उत्पादकहरूले उत्पादन गरेको विद्युत् खेर जाने र उनीहरूले ठूलो नोक्सानी व्यहोर्नुपर्ने खतरा बढेको थियो ।
सोही कारण यसको विरोध हुँदै आएको थियो । विरोध भएपछि सरकार पछाडि हटेको हो ।