
देशका विभिन्न स्थानमा एकैदिन ५ जना मृत फेला परेका छन् ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका- ६ कर्मास्थित कर्मा खोलामा मायादेवी गाउँपालिका- १ पकडी बस्ने ४१ वर्षीय राधेश्याम कोरी मंगलबार मृत फेला परेका छन् ।
यस्तै, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका- ६ धिप्लुङ बस्ने ७० वर्षीय लालबहादुर कार्की सोही गाउँपालिका- ६ स्थित धन्सार खोलामा मंगलबार मृत फेला परेका छन् ।
यसैगरी मोरङको सुनवर्षी नगरपालिका- ६ नयाँचोकमा रतुवामाई नगरपालिका- ५ बस्ने २५ वर्षीय सागर ताजपुरिया पनि मंगलबार नै मृत फेला परेका प्रहरीले जनाएको छ ।
झापाको कमल गाउँपालिका- १ स्थित कृष्णे खोलाको किनारमा सोही गाउँपालिका- १ रतनचौन बस्ने मिङमारेन्जे शेर्पाको छोरा १२ वर्षीय सुसान शेर्पा मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी गोरखाको पालुङटार नगरपालिका- ७ स्थित प्याउदी खोलामा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला मृत फेला परेकी छिन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।