
भारतसँगको पाँच टेस्ट शृङ्खलाको पहिलो खेल इङ्ग्ल्याण्डले जितेको छ। बेन डकेटको शतक र ज्याक क्राउली र जो रुटको अर्धशतकको मद्दतले पहिलो टेस्ट खेलको पाँचौं दिन गएराति इङ्ग्ल्याण्डले भारतलाई पाँच विकेटले पराजित गरेको हो । जितसँगै इङ्ग्ल्याण्डले पाँच खेलको टेस्ट शृङ्खलामा १-० को अग्रता लिएको छ।
अन्तिम दिन इङ्ग्ल्याण्डलाई जित्नको लागि ३५० रन आवश्यक थियो । बेन डकेटले इङ्ग्ल्याण्डको लागि १४९ रनको इनिङ खेलेर इङ्ग्ल्याण्डको जितको जग बसाले । उनले पहिलो विकेटको लागि ज्याक क्राउलीसँग १८८ रनको साझेदारी गरेका थिए । त्यसपछि उनले रूटसँग तेस्रो विकेटको लागि ४७ रन जोडे।
जो रुटले पहिले स्टोक्ससँग ४९ रन जोडे र त्यसपछि स्मिथसँग ७१ रनको साझेदारी गर्दै टोलीलाई जीत दिलाए ।
भारतको लागि शार्दुल ठाकुर र प्रसिद्ध कृष्णले २-२ विकेट लिए ।
भारतीय टोलीले पहिलो इनिङमा ४७१ रन बनाएको थियो। जवाफमा इङ्ग्ल्याण्डले ४६५ रन बनाएको थियो। दोस्रो इनिङमा भारतीय टोली ३६४ रन बनाउन सफल भएको थियो । पहिलो इनिङमा भारतका लागि यशस्वी जयस्वाल, शुभमन गिल र ऋषभ पन्तले शतक बनाएका थिए।
जबकि दोस्रो इनिङमा केएल राहुल र ऋषभ पन्तले शतक बनाए । पहिलो इनिङमा जसप्रीत बुमराहले पाँच इङ्ग्ल्याण्डका ब्याट्सम्यानलाई पवेलियन पठाएका थिए। शृङ्खलाको दोस्रो खेल जुलाई २ देखि बर्मिङ्घममा खेलिनेछ।
टेस्ट क्रिकेटको इतिहासमा, भारत पहिलो टोली बन्यो जसका खेलाडीहरूले ५ शतक बनाए तर पनि टोलीले हार बेहोर्नु पर्यो ।