
चीनको दक्षिणपश्चिममा आएको बाढीले ८० हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
चीनले चरम गर्मीको सामना गरिरहेको छ । दक्षिणपश्चिमी गुइझोउ प्रान्तमा मङ्गलबार दिउँसोसम्म करिब ८० हजार नौ सय जनालाई सुरक्षित स्थानमा सारिएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
रोङजियाङ काउन्टीमा एउटा फुटबल मैदान ‘तीन मिटर पानीमुनि डुबेको’ समाचार एजेन्सीले जनाएको छ ।
राज्य प्रसारणकर्ता सीसीटीभीको फुटेजले प्रान्तको एउटा पहाडी क्षेत्रमा गाउँहरू डुबानमा परेको र एउटा पुल भत्किएको देखाएको छ ।
बाढी पीडितहरूका लागि चामल लगायत आपूर्तिहरू पुर्याउन ड्रोन तयार गरिरहेको एक टोली पनि देखिएको थियो ।
बाढीले छिमेकी गुआङ्सी क्षेत्रमा पनि असर पारेको छ । सरकारी सञ्चारमाध्यमले त्यहाँ बासिन्दाहरूलाई सुरक्षित स्थानमा पुर्याउने उद्धारकर्ताहरूको भिडियो प्रकाशित गरेको छ ।
भारी वर्षाका कारण मध्य चिनियाँ प्रान्त हुनानमा गत हप्ता दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।
टाइफुन वुटिपका कारण आएको भारी बाढीपछि केही दिनअघि नै दक्षिणी चीनमा करिब ७० हजार मानिस विस्थापित भएका थिए ।
चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक हो तर नवीकरणीय ऊर्जाको पावरहाउस पनि हो । चीनले सन् २०६० सम्ममा कार्बन डाइअक्साइड उत्सर्जनलाई शुद्ध शून्यमा कटौती गर्न खोजेको छ ।