३० जेठ २०८३, शनिबार

'पर्यटकलाई आफ्नै घरको पाहुँना ठानेर व्यवहार गरिनुपर्छ'

असार ११, २०८२
काठमाडौं
'पर्यटकलाई आफ्नै घरको पाहुँना ठानेर व्यवहार गरिनुपर्छ'

नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष बेदराज बास्तोलाले पर्यटकीय यातायातका सवारीचालक दक्ष भएमा यात्रा गर्दा पर्यटक र चालकलाई सहज हुने बताएका छन्। 

बुधवार काठमाडौंमा पर्यटक सवारीचालक तथा सहचालक अभिमूखीकरणसम्बन्धी एक दिने प्रशिक्षणमा   उनले चालक आफैं सक्षम भएमा आफू र सँगै यात्रामा रहेका पर्यटकलाई सजिलो हुने बताएका हुन् । 

'प्रशिक्षणले चालक र सहचालकलाई सक्रिय बनाउनेछ ।  चालक दक्ष भए यात्रा गर्दा सहज हुने भएकाले आफ्ना लागि अवसरका ढोका खुल्नेछ,' उनले भने,' यात्रा गरिरहँदा पर्यटकसँग गर्ने व्यवहार सिक्ने छन्। यात्राभर रहेका पर्यटक आफ्नै घरको पाहुँना हुन भनेर व्यवहार गरिनुपर्छ।'

बास्तोलाले चालकले यात्रामा रहँदा ट्राफिक नियम पालना गरेर स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यमा पुर्याउनलाई सुझाव दिए ।

चालक मात्र नभइ सहचालक पनि उतिकै जिम्मेवार हुनुपर्ने अध्यक्ष बास्तोलाको भनाइ छ । सहचालकले पर्यटकसँग राम्रो बोलीचाली तथा असल व्यवहार गर्नुपर्ने उनको भनाइ छ ।

यात्रा अवधिभर सहचालकले पर्यटकलाई जानेका विभिन्न ठाउँको बारेमा जानकारी दिनुपर्ने उनले प्रस्ट पारे । पर्यटकीय यातायात व्यवसायी र चालक तथा सहचालकको सधैँ सुमधुर सम्बन्ध हुनुपर्ने उनको भनाइ छ ।

सवारीचालक तथा सहचालक अभिमूखीकरण प्रशिक्षणका प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले लगानी बढे पनि पर्यटकको संख्या कम भएको बताए । 'आवश्यक आधारभूत पूर्वाधार निर्माण नहुँदा सोचे भन्दा कम पर्यटक आइरहेका छन्,' उनले भने,' राज्य जिम्मेवार भएर पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ । जसले गर्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटकीय पूर्वाधार प्रचारप्रसार हुनेछ ।'

उनले पर्यटकलाई लक्षित गरेर सेवा दिने सेवाग्राहीले गुणस्तरीयतामा ध्यान दिन सुझाए । नेपालीको व्यवहारले पर्यटकको संख्या बढ्ने र पुन: आउने पर्यटकको संख्या बढ्ने उनले बताए ।

प्रशिक्षणमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालका वरिष्ठ सही राजीव विष्टले प्रशिक्षणमा सबैभन्दा चालक जिम्मेवार भएमा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए । 

चालकहरूले ट्राफिकको लागि नभई आफ्ना लागि ट्राफिक नियम पालना गर्नुपर्ने उनले बताए । प्रशिक्षणमा चालक तथा सहचालक ९२ जना सहभागी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्