०७ साउन २०८३, बिहीबार

लागुऔषध नियन्त्रण गर्न विभाग स्थापना गरिने

असार १२, २०८२
काठमाडौं
लागुऔषध नियन्त्रण गर्न विभाग स्थापना गरिने
फाइल फोटो

सरकारले लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने भएको छ ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार आगामी वर्षमा सो विभाग स्थापना गरिने छ ।

सो कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी वर्षमा छुट्टै विभाग स्थापना गर्न लागेको बताए । उनले लागुऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।

'हामी लागुऔषध नियन्त्रण गर्नका लागि आगामी आर्थिक वर्षमा गृह मन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ,' गृहमन्त्री लेखकले भने, 'गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम, रोकथाम र सजायलगायतका कार्यक्रम अघि बढाएको छ ।'​​

लागुऔषध सेवन दुर्व्यसनकै कारण सडक दुर्घटना, आत्महत्या, साइबर क्राइमलगायतका घटना हुने गरेको उनले बताए । 'मुख्य विषय भनेको यसको रोकथाम हो । जनचेतना महत्त्वपूर्ण विषय हो । लागुऔषधको दुरुपयोगले समाजलाई समाजलाई भयावह ढङ्गले प्रभावित गरेको छ,' लेखकले भने, 'लागुऔषध नियन्त्रणका लागि समाज, घर, टोल र विद्यालयसम्म पुगेर सचेतनामूलक कार्यक्रम आवश्यक छ ।'​​​

लागुऔषध नियन्त्रणको अभियानमा सहयोग गर्न आग्रह गर्दै मन्त्री लेखकले सरकारको प्रयासले मात्रै नियन्त्रण कठिन रहेको बताए । 'एक लाख ३४ हजार जना लागुऔषध सेवनकर्ता रहेको तथ्याङ्क छ । समाज नराम्रोसित प्रभावित हुँदैछ,' उनले भने, 'मुलुकभरका कारागारका कैदीबन्दीमध्ये दोस्रो ठूलो सङ्ख्यामा लागुऔषध दुर्व्यसन, ओसारपसार, भण्डार गर्नेको सङ्ख्या छ । यसबाट पनि यसको अवस्था प्रष्ट हुन्छ ।'

दिवसका अवसरमा आयोजित कार्यक्रममा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र विभिन्न सरोकारवाला निकाय, सरकारी तथा गैरसरकारी संस्थाको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्