
काठमाडौं, २१ मंसिर — डा अम्बेडकर इन्टरनेसनल सेन्टरको उद्घाटनका अवसरमा नरेन्द्र मोदीले भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीलाई गरेको व्यंग्यप्रति कांग्रेसले कडा प्रतिक्रिया दिएको छ ।
कांग्रेस नेता मणिशंकर अय्यरले भने, ‘मलाई यो मानिस (मोदी) नीच खालको मानिस लाग्छ । उसमा सभ्यता छैन । पावन अवसरमा पनि उसले फोहोरी राजनीति गर्छ ।’
मोदीले उद्घाटनको अवसरमा राहुलको नाम नलिइकनै जुन राजनीतिक दलले बाब अम्बेडकरको नाम लिएर राजनीति गर्छन् उनीहरूलाई बाबासाहब नभई भोले बाबा याद आइरहेको छ भनेका थिए ।
मोदीले बिहीवार उद्घाटन समारोहमा भने, ‘हामीले बाबा अम्बेडकरको सपना पूरा गर्न नसकेको स्वीकार गर्नुपर्छ । आधुनिक पुस्ताले सामाजिक खराबीको अन्त्य गर्ने क्षमता राख्छ । यो देश जातको नाममा बाँडिएर अघि बढ्न सक्दैन ।’
त्यसैबेलामा मोदीले गुजरात चुनावका बेलामा राहुल गान्धीले मन्दिर गएको विषयमा व्यंग्य गरेका थिए ।
एजेन्सी