
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष धरानका प्रमुख राजनीतिक दलले ज्ञापनपत्र बुझाएका छन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले बिहीबार संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमार्फत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘छाता ऐन’बाट अलग गरी पृथक चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न पहल गर्न उनीहरूले माग गरे ।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वमा सरकार हुँदा धेरै विश्वविद्यालय स्थापना गर्ने र अगाडि बढाउने काम गरेको बताए ।
उनले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरानो र नेपालको पूर्वी क्षेत्रको एक अत्यन्त महत्त्वपूर्ण संस्था रहेको भन्दै यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण विषय रहेको बताए ।
‘पदाधिकारी नियुक्तिमा देखिएको अन्योल र कार्यक्षमता अभाव दुःखद् पक्ष हुन्। अब यस संस्थामा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्नुपर्छ’, प्रचण्डले भने, ‘तपाईंहरू समाधानको एक स्पष्ट विकल्प लिएर आउनु भएको छ, यो सकारात्मक कुरा हो । तपाईंहरूको यस मागमा म पूर्ण रूपमा साथ रहन्छु ।’