
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले हालै विश्व क्रिकेटको केही नियममा परिवर्तन गरेको छ ।
बाउन्ड्री लाइनमा लिइने क्याचदेखि एकदिवसीय क्रिकेटमा बलको प्रयोगसम्मको नियममा आईसीसीले परिवर्तन गरेको छ ।
त्यसमध्ये केही नियम विश्व टेस्ट च्याम्पियनसिपको २०२५–२७ सिजनदेखि लागू भइसकेको छ । केही नियम भने आगामी जुलाई २ तारेखदेखि लागू हुनेछ । परिवर्तन गरिएको नियमको विषयमा आईसीसीले आफ्ना सदस्य राष्ट्रहरूलाई पनि जानकारी गराइसकेको छ ।
आईसीसीले अब टेस्ट क्रिकेटमा पनि ‘स्टप क्लक’को प्रयोग गर्ने भएको छ । सीमित ओभरको क्रिकेटमा ‘स्टप क्लक’को नियम शुरू भएको एक वर्षपछि आईसीसीले टेस्ट क्रिकेटमा पनि यो नियम लागू गर्न लागेको हो ।
टेस्ट क्रिकेटमा यो नियम लागू भएपछि बलिङ गर्ने टोलीले एउटा ओभर सकिएको एक मिनेटभित्रै अर्को ओभर फाल्नु पर्ने हुन्छ । यदि एक मिनेटभित्रै अर्को ओभर फाल्ने तयारी गरिएन भने अम्पायरले फिल्डिङ गर्ने टोलीलाई चेतावनी र सजाय गर्न सक्नेछ । यस्तो स्थितिमा अम्पायरले फिल्डिङ गर्ने टोलीको पाँच रनसम्म काट्न सक्नेछ ।
पछिल्लो समय बलरहरूले बल चम्काउन थुक वा र्याल लगाउन नपाउने नियम छ । तर, आईसीसी यो नियममा भने केही लचिलो बनेको छ । यदि खेलका क्रममा बलमा र्याल लगाइएको पाइएमा अम्पायर तत्काल बल परिवर्तन गर्न बाध्य हुने छैनन् ।
आईसीसीका अनुसार, यो नियम लागू भएपछि बलरहरूले बल परिवर्तन गर्ने उद्देश्यले जानाजान बलमा र्याल दल्ने छैनन् । खेलका क्रममा बलमा निकै ठूलो परिवर्तन देखिएमा मात्र अब अम्पायरले बल परिवर्तनको अनुमति दिनेछन् ।
यो नियमले अम्पायरलाई स्वविवेक प्रयोग गर्ने अधिकार दिएको छ । बलिङ गर्ने टोलीले बलमा जानाजान र्याल लगाएको पाइएमा अम्पायरले ब्याटिङ गर्ने टोलीलाई क्षतिपूर्ति स्वरूप पाँच रन दिन सक्नेछन् ।